ओलीकाे जवाफी प्रस्तावपछि प्रचण्डको जवाफ यस्ताे (सम्वाेधनकाे पूर्णपाठ)



काठमाडौं। तपाईंले अर्को अध्यक्षमाथि प्रहार गर्ने ढंगले जुन पत्र लेख्नुभयो त्यो सार्वजनिक भएपछि मात्रै मैले जवाफ लेखेको हुँ। आफूतिरको कुरालाई पनि हेरौँ। र,कसरी घटनाक्रम अगाडि बढ्यो अलि वस्तुवादी भएर विचार गरौँ। जहाँसम्म पुस्तिकाको कुरा छ, जब यी सबै चिज १० पृष्ठ लामो पत्रसहित सार्वजनिक भइसकेपछि ठाउँ ठाउँबाट यथार्थ के हो हामीलाई सानो बुकलेटजस्तो बनाएर जानकारी दिए सजिलो हुने थियो भन्ने माग आयो र अहिलेको असहज परिस्थितिमा जानकारीको लागि पठाइएको पक्कै हो। त्यो पनि त्यस्तो बेलामा जब अध्यक्ष कमरेडले सचिवालयको बैठकमा बोलेको आफ्नो अडियो बाहिर ल्याउनु भयो र हाम्रो प्रस्तावले अस्विकार र खारेज गरेँ भन्नुभयो। यो कुरा कमरेडको दिमागमा रहोस्। तपाईंको पत्रसहित पठाउँदा टेक्निकल्ली अलिकति मिस भएको छ,तपाईंको बैठकको मन्तव्य सार्वजनिक नहुँदासम्म त्यो त्यसरी गएको थिएन। यसबारे म यति कुरा विचार गर्न,आफूतिर पनि थोरै फर्केर हेर्नअनुरोध गर्न चाहन्छु। स्थायी समिति,कार्यदल र त्यसको सहमतिबारे कमरेडले आज यहाँ जे कुरा राख्नुभएको छ,यसमा मेरो के भनाई भने तपाईंले न कार्यदललाई राम्रोसँग स्वीकार गर्नुभयो न कार्यदलको सुझावलाई नै मनन गर्नुभयो,न स्थायी समितिको निर्णयलाई सहज ढंगले अगाडि बढाउन दिनुभयो। यसलाई मेरो आरोप भन्नुस् या आलोचना भन्नुुस् त्यो गम्भीर छ। कार्यदलको संयोजक यहीँ हुनुहुन्छ। कार्यदल गठन र स्थायी समितिको निर्णयसम्मलाई अर्को अध्यक्ष र तिमीहरुले मलाई घिसारेर ल्याएको हो भन्ने शब्द तपाईंले प्रयोग गरेको सायद महासचिव कमरेडले बिर्सनुभएको छैन होला। कार्यदलले मलाई र तपाईंसमेतलाई यो बीचमा विवादास्पद अभिव्यक्ति नदिन र नियुक्तिहरु नगर्न सुझाव दिइसकेपछि गरिएका नियुक्तिहरुको प्रकृतिमात्रै हेर्ने हो भने अहिले कार्यदल र स्थायी समितिप्रति मचाहिँ इमान्दार छु भनेको कुरालाई पुष्टि गर्छ र तपाईंको व्यवहारले ?

तपाईंले प्रेस काउन्सिलमा कस्तो साथीलाई पठाउनुभयो ? त्यति नै बेला राजश्व बोर्डमा कस्तो मान्छे राख्नुभयो ? समाज कल्याणमा कस्तो मान्छे लानुभयो ?

कार्यदलले काम गर्दागर्दै स्थायी समितिको यही हलमा भएको बैठक समापनको बेला तपाईं उपस्थित रहनुभएन । कार्यदल र स्थायी समितिका निर्णयप्रति तपाईंको अरुचि त्यतिबेला नै झल्किएको हैन र ? २६ गते निर्णय भयो,२८ गते तपाईं र बस्दाखेरिका तपाईंका अभिव्यक्ति मैले मात्र होइन महासचिवले पनि सुन्नुभएको छ । जुन चिज सबभन्दा बढी संवेदनशील थियो र हामीले सहमति गरेका थियौँ त्यही विषयमा तपाईंको असहमतिले के संकेत गर्छ ? तपाईंको व्यवहार र आचरण एकताप्रति इमानदार देखियो र स्थायी समितिमा ? या कार्यदल र स्थायी समितिका निर्णयप्रति अडिनुभयो ? कमरेडलाई म एकचोटी फर्केर विचार गर्न अनुरोध गर्न चाहन्छु।

यहाँ अरु सबै कमरेडहरु हुनुहुन्छ, कार्यदल बनेपछि र स्थायी समितिको निर्णय भएपछि हामी सचिवालयका पाँच जना सदस्यहरु जो प्रायः छलफल गर्ने गथ्र्यौ त्यो रोकिएको थियो। जबसम्म तपाईंले कार्यदल र स्थायी समितिका निर्णयलाई अस्वीकार गर्ने प्रकृया अगाडि बढाउनुभएन तबसम्म अब यसरी हामी जुट्नु जरुरी छैन भनेर त्यो रोकिएको जानकारी तपाईंलाई गराएकै हो। स्थायी समितिबाट सर्वसम्मत निर्णय गरिसकेपछि त्यसको कार्यान्वयनको सन्दर्भमा अब छुट्टै बस्न जरुरी भएन भनिएको कुरालाई तपाईंले बेवास्ता गर्न मिल्छ र ? मैले भनेको कुरा तपाईंले पक्कै पनि बिर्सनुभएको छैन । २८ गतेकै दिन मंसिर ४ मा गरेको निर्णय ६,७ मा गएर तपाईंले अर्को ढंगले ब्याख्या गरेपछि देशभरि कन्फ्युजन भयो र २६ गतेको निर्णयलाई तपाईंले २८ गते नै चुनौति दिनुभयो। अहिले म सबै डिटेलमा जान चाहन्न,पछि छलफल गरौँला । तपाईं त्यसको उल्टो देखिएपछि पक्कै पनि फेरि सचिवालयका कमरेडहरुसँग छलफल शुरु भएकै हो। र,बैठकका सन्दर्भमा हामीले लिखित दिएको पनि हो। तपाईं भन्नुहुन्छ,कोभिड १९ को बारेमा त कसैलाई चिन्ता छैन। तथ्यले भन्छ र यो ? कोभिड १९ कै बारेमा छलफल गर्नुपर्छ भनेर दुईपटक लिखित रुपमा तपाईं र मेरो नाममा पत्र आएको होइन?

अहिले तपाईंले कोभिडका बारेमा तपाईंलाई चासो नै छैन भन्दै हुनुहुन्छ । मलाई फुटको खेती तैँले गरिस् भनेर तपाईंले बडो गम्भीर ढंगले राख्नुभयो। मेरो अनुभव,मेरो अनुभूति र मेरो मर्म कहाँनेर छ भने केन्द्रीय समितिको दोस्रो बैठकपछिबाट देशभरिका नेता-कार्यकर्तामा एउटा सकारात्मक सन्देश जानु पार्टी एकतामा अर्को नयाँ उचाईमा आउनु थियो । अब पार्टी निर्माणको प्रक्रिया अगाडि बढ्ने भयो भन्ने भएपछि तपाईं र तपाईं नजिकका कमरेडहरुले भेला गरेर अबचाहिँ प्रचण्डका विरुद्ध र माओवादीलाई फुटाउनतिर केन्द्रित हुनुपर्छ भन्ने निर्णय गर्नु गुटको खेति थाल्नु हैन र ?

अनि तपाईंले बडो अपारदर्शी तरिकाले सचिवालयलाई त कुरै छोडौँ अर्को अध्यक्ष र वरिष्ठ नेताहरुलाई समेत जानकारी नदिइकन सरप्राइज दिदै जसरी अध्यादेश ल्याउनुभयो त्यो फुटतिरको कदम थिएन र ?

अनि स्थायी समितिको बैठक चल्दाचल्दै तपाईंकै निर्देशनमा नेकपा एमाले दर्ता गर्नु फुटतिरको कदम होइन र ? अनि मैले तपाईंलाई गम्भीर ढंगले ध्यानाकर्षण गराउनको निम्ति सामान्य कुराले मात्रै पुगेन र अल्लि स्ट्रङली भन्नुपर्ने रहेछ भन्ने निष्कर्षमा पुगेर पार्टी एकताकै निम्ति यहाँ यहाँ गल्ती भएको छ भन्नु एकता सुदृढ गर्ने कुरा होइन र ? म के भन्न चाहन्छु फेरि पनि भने मैले प्रस्तुत गरेका विचारहरु, राजनीतिक मुद्धाहरु,संगठनात्मक विधि पद्धतिहरुका सन्दर्भमा तपाईले आफ्नो विचार राख्नुभयो म त्यसलाई स्वागत नै गर्छुु । तपाईंले आफ्नो कुरा स्पष्ट पार्न कोशिस गर्नुभएकोमा धन्यवाद नै भन्न चाहन्छु। खारेज गर्दागर्दै पनि,अस्वीकार गर्दागर्दै पनि तपाईंले त्यसको प्रतिउत्तर दिएर आफ्नो धारणा अगाडि ल्याउने कोशिस गर्नुभएको छ,त्यसले एउटा जीवन्त पार्टी बनाउने,सत्य के हो भन्ने बहस छलफलबाट पत्ता लगाउनेतिर मद्धत नै गर्छ भन्ने म ठान्छु। यसअर्थमा मैले यसलाई अनौठो ठानेको छैन। बरु स्वागत नै गर्छु ।

वादे वादे जायते तत्वबोध भनेजस्तै यो बहसले पार्टी फुटाउँछ नै भन्ने निष्कर्ष निकाल्नु या फुटिसक्यो भनेजस्तो कुरा गर्नु बिल्कुल सही हुँदैन । बरु यो बहसले पार्टीलाई अझ बढी जीवन्त,गतिशील बनाउँछ,विचारलाई अझ बढी स्पष्ट र परिमार्जित गर्छ, एकतालाई अझ सुदृढ गर्न मद्धत गर्छ। स्थायी समितिको निर्णयको कुरा तपाईंले मतिर सोझ्याउनुभएको छ । के अफ्नै निर्देशनमा देशव्यापी मदन भण्डारी प्रतिष्ठानका कामलाई अझ सक्रिय पार्ने (हाम्रो राजनीतिक प्रतिवेदन र विधानमा भनिएविपरितको राजनीतिक सिद्धान्त र कार्यक्रम प्रचार गर्ने ) काम गरेर स्थायी समितिको सर्वसम्मत निर्णयलाई चुनौति दिएको कुरालाई तपाईंले ढाक्न सक्नुहुन्छ र ? तपाईंले नै गर्नुभएको होइन ? मैले प्रस्ताव लेखेपछि मात्र झन गरेको होइन तपाईंले ? मैले तपाईंलाई तपाईंको भाषामा आरोपपत्र भनेपनि लेखेपछि तपाईंले चर्काउनु भएको होइन र ? त्योभन्दा पहिला नै तपाईंले त्यसरी अभियान चलाएको होइन र ? अनि त्यो फुटतिरको कदम होइन ?

कमरेडले भन्नुभयो सहमतिबाट जाने भनेको हो,ठीक हो सहमतिबाट एकता महाधिवेशनमा जाने भनिएकै हो। तर हामीले जेठ २ गते गरेको सहमति कसले,कुन मनशायले तोड्नेतिर गयो ? यसको गम्भीर समीक्षा गरौँ न,म त तयारै छु। के कारणले यस्तो स्थिति भयो ? हामीले पक्कै पनि सहमतिबाट जाने भनेकै हो तर फेरिपनि यो कम्युनिस्ट पार्टी हुनुको नाताले सबै विषयमा सधैँ नै सहमति नै हुन्छ भन्ने जरुरी नभएकै कारण तपाईं हामीले राजनीतिक प्रतिवेदनमा हाम्रो संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता हुनेछ भनेको होइन र ! बहुमतको निर्णय पार्टीको निर्णय हुनेछ भनेर विधानमा त्यतिबेलै लेखेको होइन र ! एकातिर सहमतिको कुरा हामीले गरेकै हो त्यो आवश्यक पनि हो। तर पार्टी हो, कैयौँ विषयमा छलफल गर्दै जाँदा सहमति भएन भने निर्णय गर्ने विधि के हो ? बहुमतको निर्णय पार्टीको निर्णय पनि त भनेका छौँ नि हामीले १ अर्को पाटो त्यो पनि त हेर्नुपर्ला। अनि कमरेडले सधैँ भन्ने गरेको एउटा कुरा,त्यो पनि आधा मात्रै सत्य देख्छु म । तपाईं र म अध्यक्ष भएको पूर्वसमूहको अध्यक्षको नाताले त हो तर त्यही कारणले औपचारिकता पाएको चाहिँ होइन । अर्को पनि पार्ट छ त्यसको किनकि हामीले यही हलमा दुवैतिरका केन्द्रीय समितिको संयुक्त बैठक बस्दा,पार्टी प्रतिवेदन र विधान पारित गर्दा दुवै पूर्वसमूहलाई विघटन भएको घोषणा पहिला गरेको हो।

अब नेकपा एमाले छैन,अब नेकपा माओवादी केन्द्र छैन। तर सजिलोको लागि हिजोको पूर्व माओवादी केन्द्रको अध्यक्ष हुनुको नाताले र पूर्व एमालेको अध्यक्ष हुनुको नाताले दुईटा अध्यक्ष जाँदा अहिले सहज हुन्छ भनेर गरिएको हो। सजिलोको लागि अर्को महाधिवेशन नहुँदासम्म यसरी जाऊँ भनेर दुवै केन्द्रीय समितिको संयुक्त बैठकले निर्णय गरेपछि भएको सत्य हो । वैधानिक र औपचारिक अर्थमा न तपाईं एमालेको अध्यक्ष अब हुनुहुन्छ न म माओवादी केन्द्रको । किनकि हामीले दुवै पार्टी बिघटन गरिसकेपछि फेरि पटकपटक तपाईंले म चुनिएको अध्यक्ष भन्दै हुनुहुन्छ।त्यसो हो भने त यहाँ महासचिव पनि त त्यहीबेला चुनिएको महासचिव, उपाध्यक्ष पनि त्यहीबेला चुनिएको उपाध्यक्ष किन फेरि हामीले उहाँहरुको ब्यवस्थापन गरेनौँ त ? यदि चुनिएकै कारणले गरेको हो भने त सबैको सम्बोधन हुनुपथ्र्यो नि त उही उही ठाउँमा । हामीले त्यसो गरेनौँ किनकि त्यो उही कमिटी यहाँ आएको होइन। वैधानिक अर्थमा, औपचारिक अर्थमा र राजनीतिक अर्थमा पनि पुराना पार्टीहरु बिघटन गरेर नेकपा बनाइएको हो । र, नेकपाको संक्रमणकाल र सजिलोको लागि मात्रै हामी दुईटा अध्यक्ष भएको हो । यो कुरा त्यत्तिकै सत्य हो। तपाईंले यसलाई अलि गहिरो गरी चिन्तन गर्न जरुरी छ । तपाईंको प्रस्तुतिमा फेरिपनि म के देख्छु भने तपाईंले आफूले कहीँ कतै कुनै त्रुटि गरेको छैन । मेरा कारणले मेरा सहयात्री कमरेडहरु चिन्तित हुनुहुन्छ भन्नेतिर तपाईं फर्किनुहुन्न। तपाईंको आजकै प्रस्तुतिमा पनि एकताको त कुरा गर्नुभयो तर प्रस्तुतिमा दम्भ र अहँकार नै झल्कियो । कहीँ पनि आत्मसमिक्षा गर्ने,आफ्नो पनि केही कमजोरीको शेयर लिन्छु भन्ने तपाईंको बानी छैन । तपाईंले बहुमतको निर्णय त छोडिदिऊँ कमरेड,यही समितिको सर्वसम्मत निर्णय पनि ठाडै अस्वीकार गर्नुभयो। तपाईंसमेत बसेको निर्णय पनि नमानेको तथ्य छ नि १ तपाईंको सोच्ने र काम गर्ने तरिका यस्तै हो ? मैले त अहिले राम्रोसँग बुझिनँ। छलफल गरौँला।

वैशाख १७ वरिपरि हामी जे छलफल गर्दैथियौँ । त्यतिबेला भनेको थिएँ,बाटो बिराइयो, बेठीक भयो। हामी जहाँबाट हिँड्न सुरु गरेका थियौँ त्यहाँबाट बाटो बिराइयो फेरि फर्केर त्यही ठाउँमा जाऊँ भनेर भनेकै हो धेरैपटक। र, हामीले जसरी राजनीतिक प्रतिवेदन र विधान पारित गरेका छौँ,जसरी दुईटा अध्यक्ष र सचिवालय गठन गरेका छौँ र सहमतिबाट चल्ने जे कुरा गरेका छौँ आलोपालो अध्यक्षदेखि आलोपालो सरकारसम्म पनि त्यसमा हामीले हस्ताक्षर पनि गरेका छौँ फर्केर त्यही जाने हो कि भनेर मैले भनेँ। तर त्यहाँबाट धेरै अगाडि भएको हुनाले म अहिले फेरि मेरोतर्फबाट त्यो माग हो भन्न चाहन्न। हामीले अब अल्लि अर्को उचाईमा गएर पार्टी एकतालाई सुदृढ गर्ने आवश्यकतालाई केन्द्रविन्दुमा राखेर धेरै मेहनत र छलफल गर्नुपर्ने भएको छ। त्यसकारण म अहिले त्यही मागमा फर्केको भन्ने अर्थ नलगाइदिनोस् तर एउटा तर्क पक्कै पनि त्यहाँनिर छ। अहिले कमरेडले जे भन्न खोज्नुभयो जेठ दुई गतेमै जाऊँ भनेको मैलेचाहिँ बुझेको छैन। तपाईं हामी छलफल गर्दै जाँदा क्लियर होला पनि तर म के देख्छु भने मैले यो प्रस्ताव कमरेडहरुसँग सल्लाह गर्ने कोहीसँग लिखितै रुपमा पनि सहयोग माग्दै, कोहीसँग मौखिक छलफल गर्दै यो प्रस्ताव तयार गर्दै गर्दा मेरो चिन्ता चाहिँ पार्टी एकतालाई कसरी सुदृढ गर्न सकिएला भन्ने नै थियो । मैले यो भन्दाखेरि अब सरकार प्रभावकारी बनाएर अर्को चुनावसम्म जाँदा कसरी पार्टीलाई एउटा गतिशील र जीवन्त पार्टी बनाईराख्न सकिएला ? भन्ने चिन्ता छ। कहिलेकाहीँ मैले तपाईंलाई आलोचना गर्दा त्यसले छुँदै छोएन भने चिमोट्न र अलिकति घोच्न पर्ने हुन्छ। मेरो दृष्टिमा मैले तपाईंलाई यही घोच्न खोजेको पक्कै हो । तर अहिले सिध्याएकै हो भन्ने अर्थ तपाईंले लगाउनुभयो। र,अब सिद्धिसक्यो भनेजस्तो गर्नुभयो भने त्योचाहिँ फेरि सत्य हुँदैन। यसबाट छलफल गर्दै जाँदा एउटा राम्रो निकास निस्केला,पार्टी सजिवरुपले अगाडि बढ्ला,सरकार पनि प्रभावकारी ढंगले अगाडि जाला। पार्टी र सरकारबीचको समन्वय राम्रो होला। जनतालाई पनि अब केही हुन्छ भन्ने वातावरण बनाउन जरुरी छ। अलिकति स्ट्रोङ ढंगले नजाने हो भने नहुने भयो भन्ने कुरालाई पनि ध्यान दिनुहोस्। यदि त्यसो हुँदैनथ्यो भने निष्कर्षको रुपमा हामी सबैले गम्भीर आत्मसमीक्षा गर्नु,आत्मालोचना गर्नु र आफैलाई बदल्ने कोसिस गर्नु,नयाँ आधारमा नयाँ एकता र रुपान्तरणको खोजी गर्नु,सबैले आफ्नो ठाउँबाट केही न केही त्याग गर्नु जरुरी छ। यो प्रतिउत्तर फेरि पनि तपाईंले जे जे भन्दै दिनुभएको छ,शुरुआत बडो नकारात्मक भावको छ। तर पनि तपाईंले प्रतिउत्तर दिनुभयो। अब्जेक्टिभ्ली म यसलाई ठीकै भएको ठान्छु।

अब धेरै कुरा नगरौँ,भोलि भन्ने कुरा तपाईंले भन्नुभयो त्यो ठीकै हो । चिनियाँ रक्षामन्त्री पनि आउने र सबै तयारी गर्नुपर्ने भएको हुनाले त्यो ठीक छ। पर्सिचाहिँ हामी छलफल शुरुआत गरौँला ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्