Banner Second

ओलीले दाहाललाई लगाए एमालेविहीन देश बनाउन खोजेको आरोप

By थाहा अनलाइन

November 29, 2020

काठमाडौं । सत्तारुढ (नेकपा) का अध्यक्ष केपी ओलीले संविधान सभाका बेला प्रचण्डले मुलुक एमालेविहीन बनाउन खोजेको आरोप लगाएका छन् । उनले हिजोको पार्टी बैठकमा आफ्नो प्रतिवेदन बाचन गर्दै प्रचण्डलाई यस्तो आरोप लगाएका हुन् ।

ओलीले जवाफमा पहिलो संविधान सभा निर्वाचनदेखि दोस्रो संविधान सभाको निर्वाचन हुँदै संविधान निर्माण प्रक्रियासम्मका एमाले–माओवादी केन्द्र तिक्ताको फेहरिस्त नै पस्किएका छन् । त्यतिबेला प्रचण्डले मुलुक एमालेविहीन बनाउन जस्तासुकै सम्झौता गर्न तयार रहेको आरोप लगाएका छन् ।

“तपाईंले एउटा प्रयासको अगुवाइ गर्नुभयो, एमालेलाई मुलुकबाट किनारा लगाउने । त्यतिबेलाको तपाईंको गठबन्धनका एकजना नेताले बारम्बार उल्लेख गर्ने गरेको ‘एमालेविहीन मुलुक’ प्रति तपाईंको प्रतिक्रिया के थियो, मैले कहिल्यै सोधिनँ तर त्यो प्रयोग असफल भयो,” ओली थप्छन् ।

त्यस्तै ओलीले २०६९ साल जेठ २ गते सहमति भङ्ग गरेको र संविधान सभा विघटनको अपजस पनि प्रचण्डकै थाप्लामा हालेका छन् । “सहमतिका आधारमा संविधान बनाउन २०६९ साल जेठ २ गते गरिएको सहमति किन भङ्ग भयो, संविधान सभालाई निरन्तरता दिन अन्य दलले गरेको आग्रहलाई तपाईंंले कसरी लत्याउनु भयो र मुलुकलाई जनप्रतिनिधिविहीन शून्यतामा पुर्याउनु भयो, इतिहासले यति सजिलै भुल्ने छैन ।

तैपनि, राजनीतिक दलहरूले सुझबुझका साथ संविधान सभाको दोस्रो निर्वाचन गराए । निर्वाचनको परिणाम स्वीकार्न तपाईंलाई कति गाह्रो भएको थियो ? कसरी ‘छानबीन समिति’ बनाएर तपाईंको ‘फेस सेभिङ’ गर्नुपरेको थियो ? सबै सम्झना छ नि, होइन र ?,” उनको प्रश्न छ ।

ओलीले विकास आयोजना सरकारसँग माग गर्ने भन्दै प्रधानमन्त्रीविरूद्ध सांसदहरूलाई हस्ताक्षर गर्न लगाएको पनि आरोप लगाएका छन् । “आज पनि तपाईं, सिधै प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्तावका लागि भनेर हस्ताक्षर गराउँदा साथीहरूले प्रश्न उठाउलान् भनेर, विभिन्न विकास आयोजनाका लागि सरकारसँग माग गर्ने बहानामा सांसदहरूलाई खाली कागजमा सही गराउँदै हुनुहुन्छ, गंभीर नैतिक प्रश्न त उठ्छ नै,” उनी भन्छन् ।