अध्यक्ष केपी ओलीको कार्यशैलीमाथि वरिष्ठ नेताद्धय खनाल उठाए प्रश्न



काठमाडौँ। राजनीतिक प्रस्तावमा आरोप–प्रत्यारोपमा उत्रेका नेकपाका दुई अध्यक्ष पार्टी सचिवालय बैठकमा पनि घोचपेचमा उत्रेका छन्। शनिबारको सचिवालय बैठकमा बोलेका वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपाल तथा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।

बैठक सुरुवात गर्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो प्रस्ताव राख्न प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई आग्रह गरेका थिए। लिखित प्रस्तावसहित आफ्नो धारणा राखेका प्रधानमन्त्री एवं अध्यक्ष ओलीले क्षमायाचनासहित दाहालले प्रस्ताव फिर्ता लिनुपर्ने माग राखेका छन्।

वैठकमा अध्यक्ष दाहालले चार पटकसम्म ओलीले पार्टी फुटाउने कोसिस गरेको बताएका थिए। ‘पहिलो–केन्द्रीय कमिटीको सफल बैठकपछि आफ्ना गुटका साथीहरुको भेला गरेर प्रचण्ड र माओवादीलाई एकल्याउन पर्छ र आफ्नो गुटको गतिविधिलाई व्यवस्थित रुपमा अगाडि बढाउनुपर्छ भनेर निर्णय गर्नुभयो। दोस्रो– अध्यादेश ल्याउँदा नै फुटाउने कदम चाल्नुभएको हो। तेस्रो– एमाले दर्ता गर्नुभयो निर्वाचन आयोगमा। चौंथो– स्थायी कमिटीको बैठकपछि पनि मदन भण्डारी फाउन्डेसनको गतिविधिलाई वडासम्म लैजान निर्देशन दिनुभयो र फुटको निम्ति संगठनात्मक आधार तयार पार्ने काम गर्नुभयो,’ दाहालको भनाई उद्धृत गर्दै ती नेताले भने ‘जबकि स्थायी कमिटीले कुनै पनि प्रतिष्ठानका गतिविधि बन्द गर्ने भनेको थियो। चारपटक तपाईले पार्टी फुटाउन खोज्नुभएको छ। तर, हामीले धैर्यपूर्वक पार्टी एकताको रक्षा गर्दै आएका छौं। अहिले पनि रक्षा गर्न दृढ छौं।’

बैठकमा वरिष्ठ नेता झलनाथ खनालले पार्टी निर्णय मान्नुपर्ने बताएका थिए। ‘अहिले पार्टीमा तिक्त्तता, अन्तरविरोधहरु देखा परेका छन्। तर यसबाट आतंकित हुनुपर्ने, भाग्नुपर्ने, पार्टी फुटको संघारमा पुगियो भनेर निष्कर्ष निकाल्नुपर्ने छैन। कहिलेकाही पार्टीमा यस्तो हुन्छ। अब दुवै दस्तावेजहरुलाई छलफलमा लैजाऔं। एउटा निष्कर्ष निकालौं। पार्टीको बैठकले जे निष्कर्ष निकाल्छ, त्यसलाई सबैले मान्नुपर्छ,’ नेता खनालको भनाई उद्धृत गर्दै अर्का एक नेताले भने।

दुई अध्यक्षको सहमतिबाट नै सबै हल खोज्ने भन्ने चिन्तन नै गलत भएको र पार्टी कमिटीबाट नै हल खोज्नुपर्ने नेता खनालको भनाई थियो। ‘पार्टीलाई विधिबाट चलाउनुपर्छ। दुई अध्यक्षको सहमतिबाट नै सबै कुरा गर्ने भन्ने चिन्तन नै गलत हो,’ उनले भनेका थिए, ‘केन्द्रीय कमिटी सर्वोच्च संस्था हो। सचिवालय, स्थायी कमिटीमा छलफल गरेर केन्द्रीय कमिटीमा जानुर्पयो भने त्यहाँबाट निर्णय गर्नुपर्छ र सबैले मान्नुपर्छ।’

वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा अन्तरविरोध हुने भन्दै नेकपा मालेमा हुँदा बैठकमा माइन्युट च्याताच्यात भएको प्रसंग निकालेका थिए। ‘पार्टीमा यस्ता विवाद भईराखेकै हुन्छन् नि। नेकपा मालेमा माइन्युट च्याताच्यात भएको होइन ? राजीनामा फालाफाल भएको होइन ? बहुमत अल्पमत हुँदैनथ्यो ?’ नेता नेपालको भनाई थियो, ‘यस्तो अन्तविरोध हुन्छ, यसलाई हल गरिन्छ। यसको आधारमा कसैले पार्टी फुटाउन खोज्छ भन्ने त्यो ठिक होइन।’

कान्तिपुर दैनिक लेख्छ – उपाध्यक्ष वामदेव गौतमले दुई अध्यक्षको सहमतिमा बैठक बोलाउने भन्ने कुरा नै गलत भएको बताएका थिए। ‘दुवै अध्यक्षका कुरा आए, त्यो राम्रो भयो । तर बैठक बोलाउन सहमति भन्ने कुरा गलत छ। जसले माग गरे पनि सचिवालय बैठक बोलाउनुपर्छ। दुई अध्यक्षमध्ये एकले बैठक बसौं भने पनि बैठक बोलाउनु पर्छ,’ बैठकमा गौतमले भनेका थिए, ‘बैठक बोलाउन पनि अन्तर्वस्तुमा सहमति खोज्ने बेठिक विधि छ। सच्चाउनुपर्छ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्