सैघाली खबर
काठमाडौं,१९ पुस
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सातै प्रदेशका अस्थायी केन्द्रसहित प्रदेश सरकार सञ्चालन सम्बन्धी ५ अन्तरिम कार्यविधी प्रस्ताव तयार पारेको छ ।संघीय मामिला तथा स्थानीय, सामान्य प्रशासन र सहरी विकास मन्त्रालयले गरेका अध्ययनका आधारमा तयार पारिएका ती प्रस्तावबारे मन्त्रि परिषद्को भोलीको बैठकले निर्णय लिनेछ ।
पहिलो प्रस्ताव प्रदेशका अस्थायी केन्द्र सम्बन्धी छ । जस अनुसार प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को भक्तपुर ठिमि, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र ७ को धनगढी अस्थायी केन्द्र हुनेछन् । दोस्रो प्रस्ताव प्रदेश प्रमुखको नियुक्ति सम्बन्धी छ ।
सामान्य प्रशासनले विज्ञहरू सहितको रायसुझावका आधारमा प्रदेश प्रमुखको नियुक्तिको मापदण्ड र आधार बनाएको छ । तेस्रो प्रस्ताव प्रदेश सञ्चालनका लागि आवश्यक पूर्वाधार र कर्मचारी संरचनाबारे छ ।
त्यसमा प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रदेशसभाको कार्यालय प्रस्तावित छन् । अर्को प्रस्ताव प्रदेशका मन्त्रालय सम्बन्धी छ । जसअनुसार प्रत्येक प्रदेशमा गृह, अर्थ, पूर्वाधार विकास, कृषि तथा भूमि व्यवस्थापन, वन, विज्ञान तथा वातावरण र शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास गरी ७ मन्त्रालय रहनेछन् । प्रदेश प्रमुख बारे भने सरकारले प्रमुख दल सँगको छलफलबाट टुंगो लगाउने भएको छ ।यसका लागि प्रधानमन्त्री शेर बहादुर देउवाले परामर्श थाल्नु भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।