कोरोना भाइरसको उत्पत्ति भारतबाट भएको दाबी : चीन



एजेन्सी। चीनले कोरोना भाइरस (कोभिड-१९)को उत्पत्ति भारतबाट भएको दाबी गरेको छ। विश्वलाई आतंकित बनाइरहेको कोरोना भाइरसको उत्पत्ति चीनको बुहानमा भएको भनिएपनि चीनले यसलाई अस्वीकार गर्दै आइरहेको छ। यसअघि युरोप र अमेरिकाबाट कोरोना फैलिएको र उत्पत्ति पनि त्यही भएको दाबी गर्दै आएको चीनले पछिल्लो समय भारतको नाम पनि लिएको छ।

बेलायतबाट प्रकाशन हुने डेलिमेलले शनिवारको संस्करणमा भारतले कोरोना भाइरस फैलाएको चीनको दाबीलाई समाचार बनाएको छ। चीनका वरिष्ठ वैज्ञानिकहरूको एक समूहले यस्तो दाबी गरेको समाचारमा उल्लेख छ। चीनको एकेडेमी अफ साइन्समा कार्यरत ती वैज्ञानिकहरूले भनेका छन्, ‘विश्वमा आतंक मच्चाइरहेको कोरोना भाइरस चीनबाट नभएर भारतबाट फैलिएको हो।’

यता भारतीय तथा बेलायती अनुसन्धानकर्ताहरू चीनको दाबीमा कुनै सत्यता नभएको बताउँछन्। बेलायतको ग्लासगो विश्वविद्यालयका प्रोफेसर डेभिड रोबर्टसनले चीनले छिमेकी राष्ट्रलाई चिढ्याउन नयाँ रणनीतिका रूपमा कोरोना भाइरस नीति अपनाएको बताए। ‘कोरोना भाइरस र भारतबीच केही सम्बन्ध छैन, सबैलाई थाहा छ भाइरस कहाँबाट फैलिएको हो, यसकारण चीनले छिमेकीलाई होच्याउन र चिढ्याउन यस्तो रणनीति अपनाएकोजस्तो लाग्छ,’ ग्लासगो विश्वविद्यालयका प्रोफेसर डेभिडले भने।

चीनको यो दाबीसँगै पुनः एक पटक भारतसँगको सम्बन्ध थप बिग्रन सक्ने विश्लेषकहरूको भनाइ छ। यी दुई राष्ट्रबीच सीमा र राजनीतिक विषयमा विवाद चल्दै आएको पनि छ। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को एक टोली कोरोना भाइरससम्बन्धी पुनः अनुसन्धान गर्न चीनको बुहानमा पुगेको छ। बुहानमा गत डिसेम्बरमा पहिलो संक्रमित देखिएका थिए।

त्यसयता दुई सय २० राष्ट्रमा कोरोना फैलिसकेको छ। यो एक वर्षभित्र कोरोनाकै कारण ६ करोड २५ लाख व्यक्ति संक्रमित तथा १४ लाख ५८ हजार व्यक्तिले ज्यान गुमाएका छन्। कोरोनाले विश्वकै अर्थतन्त्र र मानिसको दैनिक जीवन भताभुंग बनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्