बोकोहरामले ११० जना किसानको घाँटी रेटेर हत्या गर्यो



काठमाडौं । नाइजेरियामा बोको हरामले ११० जनाको हत्या गरेको छ । सो समूहले खेतमा काम गरिरहेकाहरुलाई नियन्त्रणमा लिएर हातखुट्टा बाँधी घाँटी रेटेर हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

संयुक्त राष्ट्रसंघले यो हत्याको निन्दा गर्दै नाइजेरियाको अवस्थाप्रति चिन्ता प्रकट गरेको छ । घटना गत शनिबारको हो । पूर्वोत्तर नाइजेरियाको मैदुगुरी शहर नजिकको गाउँलाई बोको हरामले निशाना बनाएको हो ।

घटनास्थलमा सुरुमा ४३ शव फेला परेका थिए । तर पछि थप शव फेला परेर मारिनेहरुको संख्या ११० पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघका एक अधिकारी एडवर्ड क्यालनले भनेका छन्, ‘यो घटना निर्दोष नागरिकमाथि भएको यस वर्षकै सबैभन्दा हिंस्रक हो । म यो जघन्य अपराधीहरुलाई कारबाही गरेर न्याय दिलाउन आग्रह गर्दछु ।’

नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले पनि किसान मजदुरको हत्या गरिएको घटनाको निन्दा गरेका छन् । उनले यो घटनाबाट सिंगो देश घाइते भएको भन्दै उनले दोषीलाई पक्राउ गरी सजाय दिलाउने प्रतिबद्धता जनाएका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्