भरतपुर महानगरपालिका वडा नम्बर ५ को वडा कार्यालय भवन शिलान्यास



चितवन। भरतपुर महानगरपालिका वडा नम्बर ५ को वडा कार्यालय भवन शिलान्यास भएको छ। सोमबार महानगरपालिकाको वडा नम्बर ५ स्थित नारायणपुरमा तीनतले कार्यालय भवनको शिलान्यास भएको हो। भवनको शिलान्यास गर्दै महानगर प्रमुख रेनु दाहालले वडा कार्यालय भवन गुणस्तरीय ढंगले समयमै निर्माण सम्पन्न गर्न निर्माण ब्यावसायीलाई आग्रह गर्दै महानगरका प्राविधिकहरुलाई भवन निर्माणको गुणस्तरलाई कडाइका साथ नियमन र अनुगमन गर्न निर्देशन दिइन्।

प्रमुख दाहालले महानगरका गौरवका आयोजनाहरु गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, सिटी हल, हुलाकी मार्गको स्तरोन्नति, रिङरोड, लिङ्करोड लगायतका काम धमाधम अगाडि बढिरहेको बताउँदै वडा कार्यालयहरु वडावासीकै आवश्यकता र सुझावका आधारमा निर्माण सुरु गरिएको जानकारी दिइन्। महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले भरतपुर महानगरपालिकाले ब्यवस्थित र सुविधासम्पन्न कार्यालयहरुबाट मात्रै नागरिकलाई गुणस्तरीय सेवा प्रवाह गर्न सकिन्छ भन्ने मान्यताका साथ वडा कार्यालय निर्माणलाई तिव्रता दिएको बताए। उनले महानगरका अधिकांश वडा कार्यालयहरु निर्माण सम्पन्नको चरणमा रहेको भन्दै यो वडा कार्यालय पनि समयमै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष तथा प्रवक्ता अरूणपीडित भण्डारी, वडा नम्बर ६ का अध्यक्ष हरिविलास कोइराला र वडा नम्बर ४ का अध्यक्ष हरि आचार्यले समयमै भवन निर्माण गरी नयाँ भवनबाट सेवा शुभारम्भ गर्न शुभकामना दिएका थिए। नेपाल कम्युनिष्ट पार्टी नेकपाका वडा अध्यक्ष हरिशरण पौडेलले अव्यवस्थित रुपमा संचालन भएको वडा कार्यालयलाई व्यवस्थित भवन बनाएर वडावासीलाई सेवा पु¥याउने विश्वास ब्यक्त गर्दै समयमै निर्माण सम्पन्न गरेर भाडाको घरमा संचालनमा रहेको वडा कार्यालयलाई सुविधासम्पन्न भवनमा सार्न निर्माण कार्यलाई गतिका साथ अगाडि बढाउन आग्रह गरे।

नेपाली कांग्रेस वडा नम्बर ५ का बुथ सहसंयोजक युवराज भुसालले सुविधासम्पन्न वडा कार्यालय भवन बन्न लागेकोमा खुसी ब्यक्त गर्दै भवन समयमै सम्पन्न हुनुपर्ने बताए। नेपाली कांग्रेस वडा पार्टीले यस स्थानमा वडा कार्यालयमा निर्माण गर्ने बिषयमा कुनै संस्थागत विरोध नरहेको भन्दै तोकिएकै समयमा भवन निर्माण हुनुपर्ने बताए।

नेपाली कांग्रेसका वडा सदस्य दामोदर सुवेदीले लामो छलफलपछि वडा नम्बर ५ ले उपयुक्त स्थानमा सुविधासम्पन्न वडा कार्यालय पाएको भन्दै तोकिएकै समयमा गुणस्तरमा कुनै सम्झौता नगरी अगाडि बढाउन आग्रह गरे। एक करोड ८७ लाखको लागतमा निर्माण हुन लागेको अन्डरग्राउन्ड पार्किङसहित ३ तलासम्म निर्माण हुने वडा कार्यालय भवनमा १० वटा कोठा रहने छन् । एक बर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी कस्मिक कन्स्ट्रक्सनले जिम्मा लिएको छ। भरतपुर महानगरपालिकाले विद्यालय, वडा कार्यालय र स्वास्थ्य भवन गरी बितेको ३ बर्षमा १ सय ६६ वटा भवनहरु निर्माण गरेको छ।

कार्यक्रम वडा नम्बर ५ का अध्यक्ष पदमपाणी सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो। अध्यक्ष सुवेदीले वडावासीहरुको सामुहिक प्रयासमा अत्याधुनिक वडा कार्यालयको शिलान्यास गर्न सफल भएको बताउँदै तोकिएको समय सीमाभित्र गुणस्तरीय भवन निर्माण गर्न आफू लाग्ने बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्