२ समूहबीच झडप, एकको मृत्यु, ९ घाइते



नेपालगञ्ज । बाँकेमा गुप्ता र यादव समूहकाबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ । घटनामा परि ९ जना घाइते भएका छन् । सोमवार बेलुका जानकी गाउँपालिका वडा नं ५ बनियाँ गाउँमा पुरानो रिसिबीलाई लिएर भएको झडपमा परि स्थानीय ५४ वर्षीय धनिराम यादवको मृत्यु भएको हो ।

उनको बेलुका ८ बजेतिर नेपालगञ्ज नरसिंह कलेजमा मृत्यु भएको डिएसपी सुवास खड्काले जानकारी दिए । मृतक यादवको टाउकोमा गहिरो चोट लागेको थियो । पूर्णिमाको अवसरमा सोमबार बेलुका गुरुवा गाउँ मेला लागेको थियो । सोही मेलामा पुगेका बाबुलाल यादवको समूहले पुरानो रिसीबी कारण नरेश गुप्तामाथि बेलुका ६ बजेतिर कुटपिट गरेका हुन् ।

त्यसपछि थप दलबलसहित पुगेका दूई समुहका बीचमा हात, खुट्टाका साथै लाठी, भाटाले समेतले कुटाकुट भएको डिएसपी खड्काले बताए । घाइते ९ जनाको बाँकेमा उपचार भइरहेको छ । घाइते मध्ये टाउकोमा चोट लागेका रामनारायण गुप्ताको अवस्था मध्यम रहेको र अन्यको अवस्था सामान्य भएको छ । यसैबीच प्रहरीले दुबै समुहका गरि झडपमा संलग्न ११ जनालाई गए राति नै नियन्त्रणमा लिएको जनाएको छ ।

झडपमा संलग्न रहेका मध्ये केही फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ । दुई समूहका बीचमा झडप भएपछि बनियाँ र आसपासको क्षेत्र बेलुकादेखि रातभर तनावग्रस्त बनेको थियो । ‘घटनास्थलवाट म पनि विहान २ बजेमात्रै फर्किएको हो,’ डिएसपी खड्काले भने ‘अहिले पनि प्रहरी र सशस्त्र प्रहरीको एउटा टोली त्यही खटिएको छ ।’ उनले अहिले त्यहाँको स्थिति सामान्य भइसकेको जानकारी दिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्