जखेरातालमा घुम्न आउनेको चहल-पहल बढ्दै



ओमप्रकाश गुप्ता, लमही १६ मंसिर । लामो समय सम्म कोरोना संक्रमणका कारण सुनसान बनेका जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरुमा अहिले चहल-पहल बढ्न थालेको छ । कोरोना संक्रमणदर घटेसँगै स्वास्थ्य सावधानी अपनाएर मन्दिरहरुमा पूजापाठसँगै पर्यटकीय स्थलहरुमा घुमफिर तथा पिकनिकका लागि मानिसको चहल-पहल बढ्न थालेको हो ।

जिल्लाका मठ, मन्दिर, कृत्रिम जलाशयसँगै पर्यटकीय स्थलहरुमा पुग्ने मानिसहरुको संख्या बढ्दै जान थालेको छ । जसमध्ये पछिल्लो समय लमही नगरपालिका वडा नम्बर ३ मा रहेको जखेरा तालमा पुग्ने मानिसहरुको संख्यामा समेत वृद्धि भएको जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका महासचिव लोकमणी बञ्जाडेले जानकारी दिएका छन् ।
कोरोना संक्रमणको जोखिमको लामो समय सम्म चल्न नसकेका डुंगा अहिले चल्न थालेको उनले बताए । कोरोनाको जोखिमका कारण मानिसहरु घुम्न आउन छोडेपछि करिव ६/७ महिना जति तालमा डुंगा चलेन’, उनले भने- ‘तर अहिले कोरोना जोखिम कम भएसँगै मानिसहरु फेरि घुम्न आउने क्रम बढेको छ ।’

उनका अनुसार आजभोलि दैनिक करिब ४/५ वटा समुहहरु तलमा पिकनिक, घुमफिर तथा डुंगा चढ्न आउने गरेको समेत बताए । तालमा नयाँ डुंगा थपिएपछि तालमा घुम्न आउने आन्तिरक पर्यटकहरु घम्न आउने गरेका छन् । दैनिक न्युनतम १२० जनालेले डुंगा शेर गर्दा र ४/५ वटा समुह पिकनिक खान आउँदा करिव दैनिक ८ देखि १० हजार रुपैयाँ सम्म आम्दानी हुन सुरु गरेको प्रतिष्ठानका महासचिव बञ्जाडेले बताए ।
लमही बजारबाट ६ किलोमिटर पूर्व र श्रीगाउँ चोक देखि उत्तरतर्फ करीब दुई किलोमिटर भित्र जखेरा ताल चुरे पहाडको फेदमा अवस्थित रहेको छ । पूर्व र पश्चिममा वन जङ्गल, दक्षिणतर्फ सुन्दर मुसुण्डी गाउँ तथा उत्तरतर्फको चुरे पहाडको फेदमा बसेको छ यो ताल रहेको छ ।

मनमोहक दृश्यले भरिएको यो ताल अहिले पर्यटकलाई लोभ्याउन पर्खिएर बसेको जस्तो लाग्दछ । निकै आकर्षक यस तालमा पुग्दा लाग्छ आफ्नो सुन्दरता देखाउन पर्यटक पर्खिएर बसेको छ । आफ्नो मनमोहक दृश्यले त्यहाँ पुग्ने सबैलाई तालले लोभ्याउने गरेको छ । मिलेको बनोट र प्रकृतिक एवं जैविक विविधता नै यस तालको प्रमुख आकर्षण हो । पूर्व-पश्चिम राजमार्गबाट नजिकै रहेकाले पनि भारत तथा तेस्रो मुलुकबाट पनि सो तालको अवलोकनमा पर्यटक आउने गरेका स्थानीय बताउँछन् ।

झण्डै सात फिट गहिराइ र साढे सात बिघा क्षेत्रफलमा फैलिएको तालको वरपर वनजङ्गल रहेको छ । तालको उत्तरतर्फ रहेका गणेश र पूर्वमा सिद्धेश्वर महादेवको मन्दिरले पनि थप आकर्षण दिएको छ । यहाँ आउने पर्यटक डुङ्गा चढेर मन्दिर दर्शन गर्न जाने गर्दछन् । वनभोज स्थल, जलविहार, प्राकृतिक पदयात्रा, चरा तथा अन्य जीवजन्तुको अवलोकन गर्न पर्यटक यहाँ आउने गर्दछन् । सात बिघा क्षेत्रफलमा फैलिएको उक्त तालमा अहिले चार वटा मन्दिर निर्माण गरिएको छ । गणेश मन्दिर, त्रिसिद्धेश्वरी महादेव, कालिका मन्दिर र राधा कृष्ण मन्दिर निर्माण गरिएको छ । तालमा घुम्न दाङ सहित प्युठान, रोल्पा, सल्यान, रुकुम, बाँके, कपिलवस्तु, बर्दिया र सुर्खेत लगायतबाट अवलोकन गर्न आउने छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्