देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु



काठमाडौं। देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ। भक्तपुर, झापा, महोत्तरी, मोरङ, रोल्पा, ईलाम, नवलपरासी९पश्चिम०, रुपन्देही, सिरहा र धनुषाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु भएको हो।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-४ एसएस चोकमा बा.७३ प ३८२ नम्बरको स्कुटर आफै अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका-९ राधे-राधे बस्ने २९ वर्षीय राजु तामाङको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमी हुँदै थप उपचारको लागि नर्भिक अस्पताल थापाथली लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

झापाको दमक नगरपालिका-४ ताराबारीस्थित सडकमा मे.१ त ६१९६ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने तुलसी प्रसाद धिमालको छोरा ८ वर्षीय जेनिस धिमालको सोमबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको अरनीको अस्पताल उर्लाबारी मोरङमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

महोत्तरीको रामगोपालपुर नगरपालिका-९ गोठ-बनौली भित्री सडकमा गोरू गाडाले किच्दा सोही ठाउँ माईती घर बस्ने अमृता देवी यादवको छोरा अन्दाजी ३ वर्षीय आयुष यादवको सोमबार दिउँसो मृत्यु भएको छ।

बाटोमा खेलिरहेको अवस्थामा गोरू गाडाले किच्दा गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल जलेश्वरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। गोरु गाडा र गाडा चलाउने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मोरङको विराटनगर महानगरपालिका-९ बुद्धचोकस्थित सडकमा को.१२ प ३५६ नम्बरको मोटरसाइकलबाट लडेर सोही महानगरपालिका-१५ रामजानकी चोक बस्ने ६० वर्षीया मनकामना झाको सोमबार दिउँसो मृत्यु भएको छ।

बिरामी भएकी झालाई उनकै छोराले मोटरसाइकलमा राखी अस्पतालतर्फ लैजाने क्रममा मोटरसाइकलबाट लड्दा गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रोल्पाको सुनछहारी गाउँपालिका-५ पोवाङस्थित सडकमा रा. त ३०८२ नम्बरको ट्याक्टर ब्याक गर्ने क्रममा सडकबाट अन्दाजी २ सय मिटर तल खसेर सोमबार साँझ दुर्घटना हुँदा ट्याक्टर चालक त्रिबेणी गाउँपालिका-७ बस्ने २४ वर्षीय टेक बहादुर बिकको मृत्यु भएको छ।दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारको क्रममा मृत्यु भएको हो।

ईलामको फाकफोकथुम गाउँपालिका-५ थुम्का भिरस्थित सडकमा को।२ च १५ नम्बरको पिकअप गाडी आफै अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा पिकअपमा सवार माई नगरपालिका-९ बस्ने ४० वर्षीय दिनेश लिम्बु लगायत २ जनाको घटनास्थलमै मृत्यु भएको छ।

साथै दुर्घटनामा घाइते भएका १ जनालाई जिल्ला अस्पताल ईलाम हुँदै थप उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको छ। पिकअप गाडीका चालकलाई सामान्य उपचार पछि प्रहरीले नियन्त्रणमा लिएको छ।

नवलपरासी(पश्चिम)को रामग्राम नगरपालिका-१० नदुवास्थित सडकमा लु.४३ प २८८५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने अन्दाजी ६० वर्षीय सिताराम गुप्ताको सोमबार दिउँसो मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल हुँदै क्रिमसन अस्पताल मणिग्राम रुपन्देहीमा थप उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रुपन्देहीको देवदह नगरपालिका-९ भलुहीस्थित सडकमा लु.१ च ६७५९ नम्बरको पिकअप गाडीले लु.५७ प ९९१४ नन्बरको मोटरसाइकललाई सोमबार राति ठक्कर दिंदा मोटरसाइकल चालक देवदह नगरपालिका-७ बस्ने २८ वर्षीय निरज ढकालको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। हाल फरार पिकअप गाडीका चालकको प्रहरीले खोजी गरिरहेको छ।

सिरहाको धनगढीमाई नगरपालिका-मुसरहर्नियास्थित सडकमा लु.६२ प ७६७० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सिरहा नगरपालिका-१९ बस्ने २७ वर्षीय प्रदिप यादवको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको धनगढीस्थित आरकेमेडिसिटि हुँदै थप उपचारको लागि नोबेल अस्पताल विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको आरकेमेडिसिटिमा उपचार भइरहेको छ।

यसैगरी सिरहाको बरियारपट्टी गाउँपालिका-३ स्थित सडकमा रोकी राखेको स.१० प ४६५९ नम्बरको मोटरसाइकलमा स।४ प ७१९७ नम्बरको मोटरसाइकल आइतबार ठक्कर खाई दुर्घटना हुँदा घाइते भएका स।४ प ७१९७ नम्बरको मोटरसाइकलका चालक औरही गाउँपालिका-५ बस्ने अन्दाजी ३० वर्षीय देव कुमार ठाकुरको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचार क्रममा सोमबार मृत्यु भएको हो । दुवै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ।

धनुषाको मिथिला नगरपालिका-८ बडहरीस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनले ज.प ५९८६ नम्बरको मोटरसाइकललाई सोमबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-१ लक्ष्मीनिवास बस्ने अन्दाजी २५ वर्षीय पंचदेव साहको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ।दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले उद्दार कार्य एवं थप अनुसन्धान गरिरहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्