प्रधानमन्त्री ओलीलाई नेता नेपालले दिए चेतावनी, पार्टी फुट्छ भनेर तर्साउने को ?



काठमाडौं। नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूमा रहेको अति व्यक्तिवाद र गुटवाद त्याग्न आग्रह गरेका छन्। ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव फिर्ता लिनुपर्ने र माफी माग्नुपर्ने भनेपछि नेता नेपालले ओलीको अभिव्यक्तिप्रति आफ्नो गम्भीर आपत्ती रहेको पनि बताएका छन्।

मंगलबारको सचिवालय बैठकमा वरिष्ठ नेता नेपाल केपी ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भए। उनले ओलीकै कारण पार्टी ध्वस्त हुन लागेको बताए। र, अब पार्टी एकता कसैले तोड्न नसक्ने, तोड्न नदिइने उनले बताए। यही सिलसिलामा मंसिर १३ को बैठकमा प्रस्तुत ३८ पृष्ठ लामो प्रस्तावमा पनि प्रधानमन्त्री ओलीले प्रचण्डलाई मात्रै गाली गरेका छन्। र, प्रतिवेदनमा ओलीले माधव नेपाल, झलनाथ खनालहरुलाई फकाउने प्रयास गरेका छन्।

यस अतिरिक्त ओली गुटका सबै नेताहरु माधव नेपाल पक्षलाई फकाउनतर्फ लागिरहेका छन्। ओली पक्षले सचिवालयदेखि स्थानीय कमिटीसम्म पूर्वएमालेको बहुमत रहेको बताइरहेकै बेला मंगलबारको बैठकमा वरिष्ठ नेता नेपालले अब पूर्वएमालेहरु एकातिर हुन्छन् भनेर नसोच्न ओलीलाई चेतावनी दिएका हुन्।

वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीलाई पार्टी फुट्छ र एमाले एकातिर, माओवादी एकातिर हुन्छ भनेर नसोच्न चेतावनी दिए। यो पार्टी फुटाउने भन्ने को ? पार्टी फुट्छ भनेर तर्साउने को ? भन्दै नेता नेपालले बैठकमा प्रश्न गरे। उनले भने, ‘पार्टी फुट्छ अनि एमाले एकातिर माओवादी अर्कातिर हुन्छ भन्ने नसोचे हुन्छ।’

पूर्वमाओवादी र पूर्वएमालेबीच भएको पार्टी एकता दुई अध्यक्षबीचको एकता नभएको नेता नेपालले बताए। ‘के हिजो माले र मार्क्सवादीबीचको एकता मदन भण्डारी र मनमोहनबीचको एकता थियो ? त्यो कसको एकता थियो ?’ बैठकमा नेता नेपालले भने, पार्टीले कसैलाई जिम्मा दिन्छ र त्यसैका आधारमा एकता हुन्छ। एकता भइसकेपछि पार्टी विधान र प्रतिवेदनका आाधरमा चल्छ, अहिले नेकपामा पूर्वएमाले र पूर्वमाओवादी भन्ने नै छैन, विघटन भइसक्यो।’

उनले पार्टी एकता ओली र प्रचण्डको मात्रै नभएकाले प्रचण्डद्धारा पेश गरिएको प्रस्तावमाथि छलफल हुनुपर्ने बताएका थिए। ओलीलाई लक्षित गर्दै नेपालले भनेका थिए,‘तपाईँमा अति नै व्यक्तिवाद मौलायो। त्यो त्याग्नुहोस्। तपाईँमा गुटवाद पनि निकै फस्टायो। त्यो पनि त्याग्नुहोस्। सचिवालयमा पेश भएका दुबै प्रस्तावमाथि छलफल हुनुपर्छ। छलफलको उपयुक्त माध्यम कमिटी बैठक नै हो। बैठक छल्न पाइँदैन।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्