पत्रकारमाथि प्रधानमन्त्रीको सचिवालयद्वारा अपमान (भिडियोसहित)



काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकसम्बन्धी समाचार सम्प्रेषणका लागि बालुवाटारमा पुगेका सञ्चारकर्मीहरूले प्रधानमन्त्रीको सचिवालयले आफूहरूलाई उपेक्षा गरेको भन्दै विरोध जनाएका छन्।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा हुने भनिएको नेकपा सचिवालयको बैठक प्रधानमन्त्री ओलीलाई असुरक्षा हुनसक्ने उल्लेख गर्दै मङ्गलवार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमै बसेको थियो। सो बैठकको समाचार सम्प्रेषणका लागि बालुवाटार पुगेका सञ्चारकर्मीहरुले आज विरोध जनाएका हुन्। प्रेस ब्रिफिङमा सञ्चारकर्मी बालुवाटारभित्र नगएर विरोध जनाएका छन्।

सञ्चारकर्मीलाई प्रधानमन्त्रीको सचिवालयले बारम्बार सडकमै उभ्याउने गरेको उनीहरूको गुनासो छ। आज पनि नेकपा सचिवालय बैठकको कभरेजका लागि गएका सञ्चारकर्मीहरूलाई बालुवाटार छिर्न दिइएको थिएन। करिब तीन दर्जनभन्दा बढी सञ्चारकर्मीहरू प्रधानमन्त्री निवासबाहिरै सडकमा अलपत्र परेका थिए। करिब ३ घण्टा बढी समय सञ्चारकर्मीहरू सडकमै उभिन बाध्य थिए।

बालुवाटारमा प्रधानमन्त्रीको सचिवालयले सञ्चारकर्मीहरूलाई उपेक्षा गरेको उनीहरूले आरोप छ। पत्रकारलाई बस्ने व्यवस्था गर्न पटक पटक आग्रह गर्दा पनि सञ्चारकर्मीहरूलाई सडकमै उभ्याएको र बाध्य भएर समाचार बहिष्कार गर्नु परेको उनीहरूले बताएका छन्। प्रधानमन्त्रीको सचिवालयका साथै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई यसबारे बारम्बार जानकारी गराउँदा गर्दा पनि मागको सम्बोधन नभएको उनीहरूको भनाइ छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्