कमाउन भारत जान लागेका १३० नेपाली फर्काइए, यस्तो छ कारण



काठमाडौं । रोजगारीका लागि भारत गएका नेपाली पलियाबाट पुनः नेपाल फर्केका छन् । बसवालाहरूले गन्त्यव्य स्थानमा नपुर्याई पलियामै अलपत्र छोडेपछि उनीहरू मंगलबार बिहान १ बजे धनगढी फर्केका हुन् ।

धनगढीको बसपार्कस्थित न्यू अछाम नेशनल गेष्ट हाउसमा सम्पर्क कार्यालय रहेको बर्दादेवी टुर एण्ड ट्राभल्स प्रालिबाट टिकट लिएर भारत गएकाहरू धनगढी फर्केका हुन् ।
सोमबार साँझ ५ बजे बर्दादेवी टुर एण्ड ट्राभल्स प्रालिबाट बस चढेर गएको कैलालीको गौरीगंगा नगरपालिकाका जय गिरीले बताए । उनीहरूले भारतको पुनाको टिकट लिएका थिए। त्यही टिकटबाट बसमा चढेर गौरीफण्टा नाका हुँदै साँझ ७ बजे पलियामा पुगेको उनले बताए । ‘पलिया पुगेपछि बसवालाले तपाईंले टिकट लिएको बर्दादेवी टुर एण्ड ट्राभल्सले करोड रुपैयाँ तिर्नुपर्ने छ ।

ज–जसले त्यहाँबाट टिकट लिएको छ उनीहरूलाई लग्दैनौं भनेर बसबाट ओर्लिन लगाए, ’ उनले भने । जय जस्तै, सोमबार साँझ गौरीफण्टा नाकाबाट बर्दादेवी टुर एण्ड ट्राभल्सबाटै अरु १ सय ३० जनाले पनि टिकट लिएका थिए ।

टिकट लिँदा गन्तव्य स्थानमै पुर्याउने भने पनि टिकट कम्पनीका कारण बीच बाटोमै अलपत्र छोडेको कैलालीकै घोडाघोडी नगरपालिकाका उपेन्द्र महराले जानकारी दिए । उनले राति पलियामा अलपत्र छोडेपछि पुनः धनगढी फर्केको बताए । टिकट काटेका १ सय ३० जनामध्ये अहिले ४० जना धनगढी बसपार्कमा फर्केका छन् ।

उनीहरू रातारात बसपार्क फर्केका हुन् । कतिपय पलियामै अलपत्र छन् । यसअघि पनि बर्दादेवी टुर एण्ड ट्राभल्स प्रालिले भारतको मुम्बई, बैंङ्गलोर, रत्नागिरी, पुना लगायतका सहरका लागि भनेर पठाएका यात्रुहरू पलिया र पुनामा अलपत्र परेका थिए ।

मंसिर ७ गतेका दिन सोही ट्राभल्सले धनगढीबाट बैंङ्लोरका लागि पठाइएका २३ जना यात्रुलाई भारतको पलियास्थित भीरामा अलपत्र बसवालाहरूले यसरी नै अलपत्र छोडेको थियो । उनीहरू पनि धनगढी फर्केका थिए। अलपत्र छोडिएका २३ जना यात्रु धनगढी फिर्ता भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीको रोहबरमा उनीहरूलाई टिकटबापतको रकम फिर्ता गराइएको थियो ।

मंगलबार फर्किएका ४० जनाले ट्राभल्स कम्पनीविरूद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका छन् । यस विषयमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले अनुसन्धान गरिरहेको बताए ।

उनले घटनाको सत्य–तथ्य बुझेर दोषीलाई कारबाही गरिने बताए । बर्दादेवी टुर एण्ड ट्राभल्स प्रालिका सञ्चालक लोकबहादुर साउदले आफूले कसैलाई पैसा दिनुपर्ने नरहेको बताए । उनले अरु टिकट कम्पनीका कारण आफूलाई फसाउन खोजेको बताए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्