‘ईश्वर वा कसैको नाममा प्रतिगमन हुन सक्दैन’ : रामचन्द्र पौडेल



दमौली। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले फागुन ७ मै महाधिवेशन गर्न सकिने बताएका छन्। क्रियाशील सदस्यता वितरण र नवीकरणलाई तीव्रता दिने हो भने पूर्वनिर्धारित कार्यतालिकाअनुसार फागुन ७ देखि पार्टीको १४ औं महाधिवेशन गर्न सम्भव हुने पौडेलले बताए।

‘क्रियाशील सदस्यताको सूची पाएको डेढ महिनाभित्र महाधिवेशन गर्न सकिन्छ,’ तनहुँमा बुधबार बिहान पत्रकारहरूसँग उनले भने, ‘तोकिएकै समयभित्र महाधिवेशन गरौं, पार्टीलाई संकटतर्फ जान दिन हुन्न।’ सभापति शेरबहादुर देउवाको कार्यकाल फागुनमा सकिँदैछ। त्यसपछि महाधिवेशन गर्ने हो भने कार्यकाल बढाउनुपर्ने हुन्छ। त्यसका लागि कांग्रेसले संविधानको सहारा लिनुपर्ने हुन्छ।

मंसिरभित्रै क्रियाशील सदस्यता टुंग्याउनुपर्ने नेता पौडेलले बताएका छन्। उनले नेपालमा कुनै हालतमा प्रतिगमन हुन नदिने बताए। सानो दुःखले देशमा लोकतन्त्र नआएको भन्दै उनले कुनै पनि नाममा राजतन्त्र नफर्कने दावी गरे।

‘ईश्वर वा कसैको नाममा प्रतिगमन हुन सक्दैन,’ उनले भने। राजतन्त्रका पक्षमा भएको आन्दोलनप्रति लक्षित गर्दै उनले यसले राजतन्त्र फर्काउन नसक्ने बताए। उनले लोकतन्त्र जोगाउने र परिष्कृत गर्ने आन्दोलन आवश्यक रहेको भन्दै त्यो तनहुँबाट सुरू गर्ने बताए। ‘अहिले कम्युनिष्ट अधिनायकवाद लाद्न खोजिएको छ,’ उनले भने, ‘पञ्चायत र कम्युनिष्ट उस्तै देखिएका छन्।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्