‘प्रधानमन्त्री ओली र गृहमन्त्री थापाले माफी नमागेसम्म आन्दोलन रोकिदैनः खड्का



काठमाडौं। नेपाली काँग्रेसका नेता दीपक खड्काले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलले माफी नमागेसम्म आन्दोलन नरोकिने बताए। वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेकोमा ओली र बादल दुवैले माफी माग्नुपर्ने भन्दै देशव्यापी आन्दोलन हुने बताए।

नेता खड्काले भने, ‘प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापाले माफी नमागेसम्म आन्दोलन जारी रहन्छ।’ १४ वर्ष जेल बसेर राजनीतिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेका वरिष्ठ नेतालाई सामान्य विषयमा नियन्त्रणमा लिनु लोकतन्त्रमाथिको हमला भएको खड्काको तर्क छ। ‘यो सरकार उन्माद र तानाशाही प्रवृत्तिमा चलेको छ। निरंकुशतामा चलेको सरकारलाई सहेर बस्दैनौँ,’ खड्काले भने।

सडक र सदनबाट आन्दोलनको आँधीबेहरी ल्याएर सरकारलाई बढार्ने चेतावनी खड्काले दिएका छन्। काँग्रेस एक भएर लोकतान्त्रिक मूल्य र मान्यता जोगाउनका लागि अघि बढ्ने बताउँदै उनले राणा र राजा फाल्ने काँग्रेसलाई कम्युनिस्ट फाल्न कुनै समस्या नहुने पनि बताए।

त्यसै गरी, खड्काले पछिल्ला दिनमा राजावादीहरू सलबलाएर लोकतन्त्रमाथि हमला भएको टिप्पणी गरे। सरकारको कमजोरीका कारण राजसंस्थाको एजेन्डा उठेको भन्दै यसको जिम्मेवारी पनि ओली सरकारले लिनुपर्ने खड्काको भनाई छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्