टप फिचर

आगामी दिनहरुमा कुनै पनि बिरामीले समयमै उपचार नपाएर मृत्युवरण गर्न नपर्ने : तुल्सा थापा

By Thaha - Online

December 03, 2020

बर्दिया। संघीय सांसद तुल्सा थापाले आगामी दिनहरुमा कुनै पनि बिरामीले समयमै उपचार नपाएर मृत्युवरण गर्न नपर्ने बताएकी छन्।

बर्दियाको बाँसगडि नगरपालिकामा आधारभूत अस्पताल शिलान्यास कार्यक्रममा बोल्दै अब कुनै पनि नेपालीले समयमै उपचार नपाएर मृत्युवरण गर्नु नपर्नै बताइन्।

उनले भनिन्, ‘उपचारबाट बन्चित र आफ्नो रोगहरु लुकाएर कुण्ठित रहेका बर्दियाका महिलाहरुले २५ शैयाको यो आधारभुत अस्पताल निमार्ण पश्चात सहजै रुपमा उपचार सेवा उपलब्ध गर्न पाउने छन्।’

सरकारले ३९६ स्थानीय तहमा आधारभूत र सातै प्रदेशमा सरुवा रोग अस्पताल शिलान्यास गर्ने कार्यक्रम मंसिर १५ गतेबाट सुरु गरेको हो।

यसै क्रममा आज बर्दियाको बाँसगडि नगरपालिकामा १३ करोड लगानीमा २५ शैयाको अस्पताल निमार्णको लागि शिलान्यास गरिएको छ। जसका लागि २७ जना कर्मचारीहरु खटाइने छ। तर सो अस्पताल निमार्णका लागि हाल सरकारले २ करोड मात्र बजेट छुटाएको सांसद थापाले बताइन्।

बर्दियालाई प्रतिनिधित्व गर्दै आइरहेकी सांसद थापाले अस्पताल निमार्णका लागि थप आर्थिक सहयोग चाहिएमा सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाइन्।

सकारात्मक सोचका साथ सबैले होस्टेमा हैसे गर्दै अगाडी बढे अस्पताल छिट्टै नै सुचारु हुने भन्दै बर्दियाका बासिन्दाले थप उपचारका लागि बाह्य जिल्ला धाउनु नपर्ने बताइन्।