१६ दिने अभियान चलिरहेकै बेला गढवामा बोक्सीको आरोप लगाउने एक जना पक्राउ



गढवा १८ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान गाउँगाउँमा चलिरहेको बेला गढवा गाउँपालिकामा बोक्सीको आरोप लगाएको कसुरमा एक जनालाई प्रहरीले पक्राऊ गरेको छ । पिडित महिलाले मंगलबार इलाका प्रहरी कार्यालय गढवामा जाहेरी दिएपछि एकजना पुरुष पक्राउ परेका हुन् ।

गढवा गाउँपालिका वडा नं. ५ चैनपुर बस्ने पिडितका सहोदर जेठाजु तिलकराम चौधरीले आफ्नै बुहारीलाई बोकसीको आरोप लगाएको भन्दै पिडित गाउँपालिकामा उजुरी गर्न आएको र अभियानमा हिडेको टोली र न्यायिक समितिले हामीले मिलाउन नबन्ने केश भनेपछि पिडित प्रहरी कार्यालयमा गएको बताइएको छ ।

यहि २०७७ मंसिर १५ गते दिउँसो करिब २ बजे पिडितका श्रीमान काममा गएको बेला एक्लै पारेर पिडक चौधरीले आफ्नै बुहारीलाई बोक्सीको आरोप लगाई कुटपिट गर्न थालेको बेला एक स्थानीयले छुट्टाएपछि पिडित भागेर गाउँपालिका आएको बताए ।

पिडकले बिगत ४ बर्ष अगाडी देखि नै आफूलाई बोक्सी भन्ने गरेको र आफ्नै जेठाजु भएकोले आजसम्म सहेर बसेको पिडित महिलाले बताउनुभएको छ । मेरै जेठाजुले मलाई बोक्सीको आरोप लगाएर कुटपिट गर्न थाल्नुभो,आजै कट्छु मार्छु भनेर धम्कि दिनुभो अनि म ज्यान जोगाउन गाउँपालिका आएँ–पिडित महिलाले भनिन् ।

जेठाजुको छोरा मापसे गरेर कल्भर्टबाट लढेर घाइते भएको र उसलाई अस्पतालमा औषधी गर्नुको बदला गुरुवा कहाँ झारफूक गराइरहेको र मलाई बोक्सी लागिस भनेर आरोप लगाएको पिडित महिलाले बताएका छन् । पिडित महिलाले जाहेरी दर्ता गरिसकेको र पक्राउ परेका पिडकलाई जिल्लामा लगि म्याद थपेर थप अनुसन्धानको प्रकृया अगाडी बढाईएको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख राजकुमार भट्टले जानकारी दिए ।

नेपाल सरकारको मूलूकी अपराध ऐन तथा फौजदारी कसुर सजाय–२०७४ मा ब्यवस्था गरिए बमोजिम बोक्सीको आरोप लगाउने जो कसैलाई पनि ५ बर्षसम्म कैद र ५० हजार सम्म जरिवाना हुने ब्यवस्था रहेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्