केपी ओलीकै निर्देशनमा आफूमाथि आक्रमण भएको दावी : रामचन्द्र पौडेल



काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री एवं नेकपाका नेता केपी शर्मा ओलीकै निर्देशनमा आफूमाथि आक्रमण भएको दावी गरेका छन्। गृहजिल्ला तनहुँमा आफूमाथि भएको आक्रमणबारे प्रतिक्रिया दिँदै पौडेलले उक्त कुरा बताएका हुन्।

बिहीबार नयाँ पत्रिका दैनिकलाई अन्तर्वार्ता दिँदै पौडेल भन्छन्, ‘‘माथिबाट निर्देशन नभई ममाथि कसैले हमला गर्न सक्दैन। यो सबै माथिल्लो तहबाटै भएको हो। सरकारको नेतृत्वको तहबाटै प्रस्तुत गरिएको अधिनायकवादी चरित्रको प्रतिनिधि घटना हो। हाम्रो नेतृत्वमा दुई वर्षअघि नै निर्माण भएको पुल उद्घाटनमा अवरोध गर्नुपर्ने के कारण छ ? यो सामन्तवादको युग होइन त। यो त लोकतान्त्रिक समाजवादको युग हो।’’

घटनापछि सरकारका कुनै प्रतिनिधिले फोन नगरेको उनले बताए। ‘‘मलाई नेकपाका अध्यक्ष प्रचण्डजी र नेता माधवकुमार नेपालजीले फोन गर्नुभएको थियो। उहाँहरूसँग चाहिँ कुराकानी भयो।’’ पौडेलले भने, ‘‘तर, सरकारको तर्फबाट कसैसँग पनि कुराकानी भएको छैन। अहिले सरकारमा भएका मन्त्री विष्णु पौडेललगायत अरू नेता साथीहरू पनि व्यक्तिगत रूपमा मसँग नजिक हुनुहुन्थ्यो। तर उहाँहरूले पनि बोल्नुभएको छैन। कुराकानी भएको छैन। अरू नेता साथीहरूले पनि फोन गर्नुभएको थियो होला। तर कुराकानी गर्न सक्ने अवस्था थिएन, फोन उठाउन पाइनँ।’’

सरकारविरुद्ध आन्दोलन छेड्ने उनले बताए। उनले भने, ‘‘यो त अहिलेसम्म उकुसमुकुस भएको सरकारको ज्यादतीको, भ्रष्टाचारको र पक्षपातको विरुद्ध हाम्रा साथीले, आमनेपाली जनताले जो दुःख भोगिरहेका थिए, उनीहरूका लागि पनि न्याय र निकासको मौका मिलेको छ। सरकारका विरुद्धको असन्तोषको विस्फोट भएको होे। मैलेचाहिँ जनताले यसलाई मौकाका रूपमा लिएको देखेँ। प्रतिगमनतिर लाने जुन क्रियाकलाप छन्, त्यसलाई सावधान गर्नका लागि पनि देशभरि कांग्रेसले लोकतन्त्र रक्षाको लडाइँ लड्नलाई एउटा संकेत दिएका हुन्।’’

‘‘यो विरोध प्रदर्शनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई परिष्कार गर्नुपर्छ। यसलाई अझै उच्चकोटिमा पुर्‍याउने गरेर, परिवर्तनलाई सार्थक रूप दिने गरेर, निमुखा जनतालाई न्याय दिने गरेर विपन्नलाई आय दिने व्यवस्था ल्याउनका लागि यसले योगदान दिनुपर्छ।’’ पौडेलले भने, ‘‘अहिले देशमा सरकारका अधिनायकवादी क्रियाकलापले गर्दा मानिसहरूमा निराशा बढेर प्रतिगामी तत्वहरूले समेत मुन्टो उठाउने अवसर पाएका छन्। यस्तो कुराबाट हामीले वर्षौँसम्म लडेर ल्याएको परिवर्तन जोगाउन, संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउनका निमित्त समेत सबै लोकतन्त्रवादी शक्तिहरूलाई एकजुट हुन म आह्वान गर्न चाहन्छु।’’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्