बन्दुक पड्केर बास्तोलाको रहस्यमय मृत्यु, आफन्तले शव बुझ्न मानेनन्



बुधबार राति उदयपुर बेलका नगरपालिकास्थित तपेश्वरीको सव–डिभिजन वन कार्यालय तपेश्वरीका वनरक्षक लेखनाथ बास्तोलाको शिकारीले छाडेको भरुवा बन्दुक पड्केर मृत्यु भएको छ ।

डिभिजन वन कार्यालय उदयपुर गाईघाटका सूचना अधिकारी जागेश्वर साहका अनुसार बास्तोलाको मृत्यु शिकारीले छाडेको बन्दुक बोकेर कार्यालयमा ल्याउने क्रममा पड्केर मृत्यु भएको हो । मृतकका आफन्तले बिहीबार रातिसम्म पनि शव बुझ्न नमानेका साहले बताए ।

डिभिजन वन कार्यालय गाईघाटका अनुसार बुधबार राति सवडिभिजन वन कार्यालय तपेश्वरीका दुई जमदार, दुई सिपाही र दुई वनरक्षक गरेर छ जना रात्रिगस्तीमा गएका थिए । जङ्गलमा चोरी शिकारी फेला परेपछि वनका कर्मचारीले घेर्नेक्रममा शिकारी बन्दुक छाडेर भागेपछि उक्त बन्दुक वनरक्षक बाँस्तोलाले बोकेर गाडीबाट कार्यालयसम्म ल्याएको डिभिजन वन कार्यालय गाईघाटले बताएको छ ।

बास्तोलाले राति १० बजे उक्त लोड भएको भरुवा बन्दुक कार्यालयभित्र लाने क्रममा ढोका नजिकै पड्कँदा आफैलाई लागेर घटनास्थलमै उनको मृत्यु भएको डिभिजन वन कार्यालय गाईघाटका प्रमुख अम्बिका पौडेलले बताए ।

घटनापछि बिहीबार सुनसरी दुहबी घर भएका वनरक्षक बास्तोलाका आफन्तलाई बोलाइएको र घटनाबारे जानकारी गराएर प्रहरी र वनका कर्मचारीले शव बुझ्न आग्रह गरे पनि मृतकका आफन्तले शव बुझ्न नमानेपछि बिहीबार रातिसम्म शव कार्यालयमै रहेको डिभिजन वन कार्यालय गाईघाटले जनाएको छ ।

मृतकका एक आफन्तले आफै बन्दुक पड्कन असम्भव रहेको र यसभित्र कुनै रहस्य भएका कारण छानविन भएर वास्तविकता बाहिर नआएसम्म आफूहरुले शव नबुझ्ने बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्