ओली र प्रचण्डबीच चर्को विवाद यथावत नै



काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चर्को विवाद यथावत नै छ। यही विवादका कारण विगत आठ महिनादेखि नेकपा किंकर्तव्यविमुढ भएको छ।

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच विवादमा रहेका अर्का महत्वपूर्ण व्यक्ति हुन् सोही पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल। पार्टीभित्र विवादका क्रममा प्रधानमन्त्री ओलीको अमर्यादित व्यवहार भोगेका र उनको कार्यशैलीबाट रुष्ट नेता नेपाल यतिखेर अध्यक्ष दाहालसँग सहकार्यमा छन्। नेपाल तिनै नेता हो, जो पटकपटक ओलीको अन्तरघात र दमनको शिकार भएका छन्।

सत्ताधारी दलको गतिविधिबारे प्रश्न उठाउने प्रतिपक्षी दलको भूमिका यतिबेला प्रचण्ड–नेपालले गरिरहेका छन्। यही विवादलाई निकास दिन प्रधानमन्त्री ओलीले एक पदबाट बिदा हुनैपर्ने उनीहरूको अडान छ। ओलीको कार्यशैली र गतिविधि कायमै रहे नेकपा र देशकै भविष्य संकटमा पर्ने भन्दै नेकपाका बहुमत नेताहरु ओलीले त्याग गर्नैपर्ने पक्षमा उभिएका छन्।

त्यसो त यसअघिको विवादमा पनि प्रचण्ड–नेपालले दुवै पदबाट ओलीको राजीनामा मागे पनि पार्टी संकटमा पुग्ने देखिएपछि अध्यक्ष दाहाल पछि हटेका थिए। नेपालको साथ पाइरहेका अध्यक्ष दाहाल प्रधानमन्त्री ओलीसँगको सहमतिमा ‘एक व्यक्ति, एक पद’को बटम लाइनबाट ब्याक भएका थिए। अध्यक्ष दाहालले त्यसबेला आफ्नो मुख्य बटमलाइनको बुँदालाई समावेश नगराएपछि नेपाल रुष्ट बनेका थिए।

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालको सहमतिपछि बनेको कार्यदलको सुझावको आधारमा भदौ २६ गते बसेको स्थायी कमिटीको बैठकमा नेपाल पनि एक हदसम्म सहमत देखिएका थिए। तर, उनले बैठकमा ’पार्टीको विधानको धारा ४६९क० अनुसार सबै तहमा सबै व्यक्तिको हकमा ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ कार्यान्वयन गर्नुपर्छ। यसो गर्दा मात्रै विशाल पार्टीको काम सन्तुलन मिलेर धेरैले जिम्मेवारी पाउनुको साथै नेतृत्वको विकास हुन्छ’ भनेका थिए।

‘हामीले एकताको सन्देश दिने बेलामा पार्टीको साविक कमिटीमा रहेका कसैलाई पनि अपमान नहुने गरी कमिटी निर्माण गर्नुपर्छ। त्यसैले अहिलेलाई पार्टी सचिवालय र स्थायी कमिटीको सर्कुलर अनुसार साविक कमिटीका सिनियरहरूलाई राखेर कमिटी निर्माण गर्नुपर्छ’ त्यतिखेर उनले भनेका थिए, ‘अधिवेशनमा निश्चित विधि बनाएर प्रतिस्पर्धा हुने वातावरण निर्माण गरी योग्य र नयाँलाई पनि पार्टीको जिम्मेवारी दिने सुनिश्चित गर्नुपर्छ।’

पार्टीभित्रको विवाद समाधान गर्न प्रधानमन्त्री ओलीले एक पद छाड्नुपर्ने नेता नेपालनिकट स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य बताउँछिन्। ‘विवाद समाधानका लागि बैठकमा उहाँ (ओली) आउनु नै हुन्न। बैठक नराख्न मात्रै भन्नुहुन्छ। त्यसैले उहाँले एक पदबाट राजीनामा दिएमा समस्या समाधानतर्फ जान्छ’, उनले भनिन्, ‘उहाँको कार्यशैलीमा सुधार आउँदैन भने एक पद मात्रै होइन, दुवै पदबाट विदा हुनु सबैका लागि उपयुक्त हुन्छ।’

पार्टीभित्र एक व्यक्ति, एक पदको कुरा पार्टीभित्र बहस रहिरहेको स्थायी कमिटी सदस्य बेदुराम भुसाल बताउँछन्। ‘पार्टीभित्र बहसमा आएका छन्। त्यस विषयमा सचिवालय, स्थायी कमिटीले छलफल गरेर निर्णय गर्छ,’ उनले भने।

थाहा खबर लेख्छ – पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गर्नसके समस्या नआउने उनी बताउँछन्। पार्टीको विधानले तोके अनुसार समयमै बैठक बस्नसके पार्टीभित्र समस्या नआउने नेता नेपालले बताउँदै आइरहेका छन्। बैठकमा पर्याप्त छलफल गरेपछि व्यक्त विचारको आधारमा विधानअनुसार निर्णय गर्नुपर्नेमा उनको मत छ।

यता, नेता नेपाल निकट पार्टी विदेश विभाग उपप्रमुख तथा केन्द्रीय सदस्य विष्णु रिजाल पार्टी अहिलेसम्म पूरै नबिग्रिएको बताउँछन्। दुर्घटना नभएसम्म पार्टीमा कुनै क्षति नहुने उनको तर्क छ। पार्टीको समस्या समाधान गर्न अनेक विकल्प रहेको उनले बताए।

‘नेकपामा अझै पूरै बिग्रिहालेको छैन। डिलमा पुगे पनि दुर्घटना नभएसम्म क्षति भइहाल्दैन। सहमतिका अनेक बाटा र विकल्प छन्’, उनले भने, ‘पार्टी एकताको मर्म, जनतासँग गरेका वाचा, आफैँले निर्माण गरेको राजनीतिक प्रतिवेदन र विधान, युवा पुस्ताको अपेक्षा, देशको भविष्य र जनताको अपेक्षालाई अगाडि राख्दा समाधान असम्भव छैन।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्