सामन्त गोयलको भ्रमणले रिजल्ट ल्याइसक्यो : परराष्ट्रमन्त्री



काठमाडौं। परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपाल भारतबीच लामो समयदेखि रहेको संवादहीनता अन्त्य भएको बताएका छन्। प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री ज्ञवालीले नक्सा प्रकाशनपछि बन्द भएको संवादहीनता अन्त्य भएको बताएका हुन्।

यससँगै अब नेपाल-भारतबीच रहेका सीमा विवादलगायत विषयमा वार्तामार्फत् समाधान गर्ने बाटोमा अगाडि बढेको उनले बताए। मन्त्री ज्ञवालीले आगामी दिनमा हुने विभिन्न चरणका बैठकमा व्यापार, वाणिज्य, जलस्रोतका साथै सीमा विवादमा पनि स्पष्ट छलफल हुने बाटो खुलेको र त्यसलाई भारतीय सरकारले पनि स्वीकार गरेको बताए।

‘नेपाल-भारतबीच नक्सा प्रकाशनपछि बन्द भएको संवादहीनता अन्त्य भएको छ,’ उनले भने, ‘सीमा समस्यालाई औपचारिक रूपमा दुवै देशले स्वीकार गरेका छन्। नेपालले औपचारिक रूपमा सीमा समस्यालाई एजेन्डाका रूपमा राखेको छ। नेपालले जुन उचाइबाट सीमा समस्याको कुरा राख्नुपर्ने हो त्यो राखेको छ।’

बैठकमा सत्तारुढ नेकपाकै सांसद भीम रावल तथा प्रतिपक्षी दलका सांसदहरूले भारतीय जासुसी संस्था रअ प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको विषयमा प्रश्न उठाएका छन्। जवाफमा मन्त्री ज्ञवालीले गोयलको भ्रमण अपारदर्शी भएको भन्न नमिल्ने बताए। उनले भने, ‘सामन्त गोयलको भ्रमणले रिजल्ट ल्याइसक्यो, हामी त्यहीँ अडेका छौं माननीयज्यूहरू।’

उनले अगाडि भनेका थिए, ‘उहाँ रअ प्रमुखका रूपमा नेपाल आउनुभएको होइन। प्रधानमन्त्री (नरेन्द्र मोदी)को सन्देश लिएर आउनुभएको हो।’ दुई देशबीच सम्बन्ध तिक्त रहेको बेला अन्य विकल्प लगाएर छलफल हुने गरेको ज्ञवालीको भनाइ थियो । ‘कहिले व्यापारी प्रयोग हुन्छन्, कहिले धार्मिक, सांस्कृतिक, नागरिक समूह प्रयोग हुन्छन्,’ उनले थपे, ‘नाकाबन्दी भएको बेला तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई पठाएको होइन र ? त्यसकारण यसलाई (सामन्तकुमार गोयलको भ्रमण) ठूलो विषय बनाउनु पर्दैन।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्