दाङका विभिन्न ठाउँमा लैंगिक सचेतनाका लागि गन्धर्वहरुले गाए संदेशमुलक गीत



ओमप्रकाश गुप्ता, भालुवाङ १९ मंसिर । दाङका गन्धर्वहरुले लैंगिक हिंसा विरुद्धको सचेतनामुलक गीत गाएका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर ११ संगित बस्तीका ३ जना गन्धर्वहरुले प्रहरी कार्यालयहरु सँग सहकार्य गरी सचेतनामुलक गीत गाउँदै अभियान चलाएका छन् । लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान चलिरहेका बेला ती गन्धर्वहरुले लैंगिक हिंसा विरुद्धको सचेतनामुलक गीत गाउन सुरु गरेका हुन् ।

वरिष्ठ सारङगी बाधक तथा गायक हेमराज गन्धर्वको नेतृत्वमा गायक राजेश गन्धर्व, भरत गन्धर्वले दाङ जिल्लाका प्रहरी कार्यालयहरु सँग सहकार्य गरी समाजमा बढ्दो महिला हिंसा, बलात्कारका घटना, बाल विवाह लगायतका विषयवस्तुलाई समेटेर संदेशमुलक गित गाएका थिए । गितमा उनीहरुले बुहारी पनि छोरी सरह भएकोले तृष्णा होइन माया गर्नुपर्ने, प्रहरी र जनता मिरेर सवै खाले हिंसा न्युनीकरण गर्न लाग्नुपर्ने तथा हिंसाका घटना भए हुने कानुनी कारवाही कस्तो हुन्छ भन्ने विषय बस्तु समेटर गीत गाएका थिए ।

यसै क्रममा शुक्रवार इलाका प्रहरी कार्यालय भालुवाङको सहकार्यमा राप्ती गाउँपालिका वडा नम्बर १ को पुरानो भालुवाङ बजार, वडा नम्बर ३ को राप्ती गाउँपालिकाको कार्यालय अगाडी र सिसहनियाँ बजारमा लैंगिक हिंसा विरुद्ध सांगेतिक कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख तथा प्रहरी निरिक्षक भुवन भट्टले गरेका थिए ।

यसै गरी इलाका प्रहरी कार्यालय गढवाको सहकार्यमा गढवा बजारमा कार्यक्रम भएको वरिष्ठ सारङगी बाधक तथा गायक हेमराज गन्धर्वले जानकारी दिएका छन् । यस अघि जिल्ला प्रहरी कार्यालयको सहकार्यमा घोराही बजार, इलाका प्रहरी कार्यालय तुलसीपुरको सहकार्यमा तुलसीपुर बजार र वडा प्रहरी कार्यालय लमहीको सहकार्यमा लमही बजारमा कार्यक्रम गरिएको वरिष्ठ सारङगी बाधक तथा गायक हेमराज गन्धर्वले जानकारी दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्