काठमाडौं । नेकपा सचिवालयको बैठक आज पनि बस्दै छ । यसअघि गत मंगलबार अध्यक्ष केपी ओली अनुपस्थित भएका कारण सचिवालय बैठक आजसम्मका लागि स्थगित गरिएको थियो । बैठक दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ ।
बैठकअघि प्रचण्ड–माधव नेपाल पक्षका नेताहरु खुमलटारमा आन्तरिक छलफलमा जुटेका छन् । केपी ओली र कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेका अलग–अलग प्रतिवेदनमाथि छलफल गर्ने तयारी छ । गएको कात्तिक २८ मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले एकल प्रस्ताव पेस गरेका थिए ।
त्यसपछि दश दिनका लागि स्थगित भएर बसेको बैठकमा ओलीले जवाफ पेस गरेका थिए । त्यसपछि गत मंगलबार बसेको बैठकमा ओली अनुपस्थित भएपछि कार्यकारी अध्यक्ष प्रचण्डले बैठक तीन दिनसम्म स्थगित गरेका थिए । यसबीचमा नेताहरुबीच सहमतिको प्रयास जारी छ ।
ओलीले प्रचण्डसँग प्रत्यक्ष छलफल नगरे पनि ओली निकट नेताहरुले प्रचण्डलाई भेटेर छलफल गर्दै आएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले समेत प्रचण्ड र ओलीसँग अलग–अलग छलफल गरेर सहमतिको प्रयास गरेकी थिइन् । कतिपयले राष्ट्रपतिको यो सक्रियताको आलोचना गर्ने गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।