काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले भोलिका लागि पूर्व निर्धारित स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रस्तावमा छलफल गर्ने निर्णय गरेको छ। सचिवालयमा सहमति जुट्न नसकेपछि दुवपै प्रस्तावमाथि स्थायी समितिमा छलफल हुने भएको हो।
आजको बैठकको सुरुवातदेखि अन्तिमसम्म भोलिका लागि बोलाइएको स्थायी कमिटी बैठक राख्ने वा नराख्ने भन्ने विषयमा छलफल भएको एक सचिवालय सदस्यले जानकारी दिए। उनका अनुसार बैठकको सुरुदेखि अन्तिमसम्म नै प्रधानमन्त्रीसमेत रहेका ओलीले बैठक रोक्ने अनेक प्रयास गरेका थिए।
भोलिको स्थायी बैठकमा दुबै प्रतिवेदन पेश गरेर छलफल सुरु गरे पनि अनौपचारिक संवादलाई पनि थप निरन्तरता दिनेगरी बैठक राख्ने सहमति भएको छ। ती सचिवालय सदस्यले भने, ‘सुरुदेखि नै ओली कमरेड बैठक नराख्नेगरी प्रस्तुत हुनु भएको थियो। उहाँले बैठक रोक्ने अनेक प्रयास गरे पनि भोलि बैठक बस्ने भन्ने निर्णय भयो।’
एक सचिवालय सदस्यका अनुसार ओलीले बैठकमा भने, ‘के गर्न स्थायी कमिटी बैकठ आवश्यक भयो ? मलाइ कू गर्नका लागि वा मेराविरुद्धको आरोपपत्र पास गर्नका लागि ? यहीँबाट निकास निकाले हुँदैन ? बहुमतको निर्णय मैले मान्दिँन।’
बैठकमा महासचिव विष्णु पौडेल र ईश्वर पोखरेलले पनि बैठक राख्न नहुने बताएका थिए। तर, अनौपचारिक सम्वादलाई पनि निरन्तरता दिने भनेपछि पौडेल र पोखरेल पनि बैठकका लागि तयार भएका हुन्।
नेकपामा विवाद चर्किदै गएपछि कात्तिकको अन्तिम हप्ता बसेको सचिवालय बैठकमा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले सरकार चौतर्फी असफल भएको निष्कर्षसहितको राजनीतिक प्रतिवेदन पेश गरेका थिए। बहुमत सचिवालय सदस्यको सहमतिमा पेश भएको प्रतिवेदनमा ओलीले निकास दिनुपर्ने निष्कर्ष निकालिएको छ।
आफूविरुद्ध विभिन्न प्रश्नसहित पेश भएको प्रतिवेदनमा असन्तुष्टि जनाउँदै प्रचण्डको प्रतिवेदनको जवाफ पनि नदिने र बैठकमा छलफल पनि नहुने बताएका ओलीले मंसिर ३ गतेको बैठकमा आफूलाई जवाफी प्रतिवेदन तयार गर्नका लागि १० दिनको समय माग गरेका थिए।
भोलिबाट सुरु हुने स्थायी समिति ओलीका लागि थप पेचिलो हुने देखिएको छ। सचिवालय, स्थायी समिति र केन्द्रीय समिति बैठक रोक्न अनेकौं प्रयास गरेपछि ओली त्यसमा असफल भएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।