काठमाडौं। कोभिड-१९ पछिको शिक्षाका चुनौती र विश्व अनुभवको आदानप्रदान गर्ने उद्देश्यले नेपाल खुला विश्वविद्यालय र संयुक्त राज्य अमेरिकाको मोर्गन स्टेट विश्वविद्यालयको आयोजनामा आजदेखि भर्चुअलरुपमा ‘२०२० स्टार कन्फरेन्स’ विषयक दुईदिने सम्मेलन शुरु भएको छ।
‘शेपिङ अ ह्युमान वर्ल्डः ग्लोबल पस्र्पेक्टिभ अन हाइअर एजुकेशन’ विषयक सो सम्मेलनको उद्घाटन कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड-१९ महामारीले उत्पन्न गरेको संकट विश्वका सबै धनी र मुलुकका लागि समान भएकाले साझा चुनौतीको सामना गर्न साझा प्रयास गर्नुपर्नेमा जोड दिए। उनले महामारीपछि सरकारले सूचना, सञ्चार र प्रविधिमा आधारित वैकल्पिक प्रणालीको सिकाइलाई निरन्तरता दिएको र जोखिम कम भएका स्थानमा सामाजिक दूरी कायम गरी प्रत्यक्ष पढाइ शुरु भएको जानकारी दिए।
मन्त्री पोखरेलले नेपालले शैक्षिक सत्रलाई खेर जान नदिने गरी प्रबन्ध गरेको उल्लेख गर्दै सूचना र प्रविधिमा आएका नवीन आयाम र परिवर्तनलाई आत्मसात् गरी उच्च शिक्षालाई अनुसन्धनात्मक तथा नवप्रवर्तनात्मक बनाउन आवश्यक रहेको बताए।
खुला विश्वविद्यालयका उपकुलपति प्रा डा लेखनाथ शर्माका अनुसार सम्मेलनमा अमेरिका, न्यूजिल्याण्ड, नेपाललगायतका विज्ञहरुको सहभागिता रहेको छ। सम्मेलनमा उच्च शिक्षाको नेतृत्व, शिक्षण पद्धति, कोभिड-१९ पछिको चुनौती आदिबारे छलफल हुनेछ। सो विश्वविद्यालयका रजिष्ट्रार कमलराज ढकालले आफूहरुले विश्वका विभिन्न विद्यालयहरुसँग सहकार्य बढाउन चाहेको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।