काठमाडौं। आइतबारदेखि सुरु भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा पार्टीका प्रभावशाली नेता जनार्दन शर्माले छलफलका लागि ‘विशेष प्रस्ताव’ पेश गरेका छन्।
शर्माले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई सम्बोधन गरेर पेश गरेको विशेष प्रस्तावमा सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नाम बदलेर नेपाल मात्र राख्ने निर्णयबाट गणतन्त्र विरोधीहरु उत्साहित भएको उल्लेख गरिएको छ।
नेकपाको सरकार र गृह प्रशासनले यस्ता कृयाकलापको रक्षा गरिरहेको छ भन्ने जन आवाज सुन्निन थालेको भन्दै संघीयताको पक्ष्यधर सबै पार्टीहरुको बीचमा छलफल आयोजना गरी जनभावना अनुसार अघि बढ्नुपर्नेमा जोड दिइएको छ।
यस्तै कोभिड महामारीबारे तत्काल भ्याक्सिन ल्याइ कोरोणा भाइरसबाट जनताको जीवन रक्षा गर्नका साथै पूर्णरुपले आर्थिक गतिबिधिहरु सुचारु हुने अवस्था श्रृजना गर्नुपर्नेमा पनि जोड दिइएको छ। उनले यसबारे सिंगो स्थायी समितिको बैठकको ध्यानाकर्षण गराउँदै यसबारे छलफल एंव तत्काल निर्णयमा पुग्नका लागि विषेश प्रस्ताव प्रस्तुत गरेको उल्लेख गरेका छन् ।
प्रस्ताव हेर्नुहोस्
क.अध्यक्षद्वय,
नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ।
विषयः बिशेष प्रस्तावमा तत्काल छलफल गर्ने बारे ।
नेपाल कम्युनिस्ट पार्टी(नेकपा) संघिय लोकतान्त्रिक गणतन्त्रको संवाहक र संरक्षक समेत हो भन्ने कुरामा कुनै दुबिधा छैन । यस विचमा सरकारले संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको नाम बदलेर नेपाल मात्र राख्ने निर्णय बाट उत्साहित गणतन्त्र विरोधिहरु आज खुलेआम संघिय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध उत्रिएका छन । नेकपाको सरकार र गृह प्रशासन यस्ता कृयाकलापको रक्षा गरिरहेको छ भन्ने जन आवाज सुन्निन थालेको छ । बरु गणतन्त्र लोकतन्त्रका पक्षमा लडेका नेताहरुमा दमन गर्ने र गणतन्त्र विरोधी प्रति नरम व्यवहार गरेको भन्ने जनताको आरोप छ । यसबाट नेपाली जनतामा ठुलो असन्तुटि पैदा हँुदै जाने सन्र्दभमा नेकपाको स्थायी कमिटि बैठक संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता सहित दृढ संकल्प गरौ । जनताको आवाज नसुन्दा त्यसले गम्भीर परिणाम निम्त्याउने बारे हाम्रो नेतृत्व स्पष्ट नै छ । तसर्थ संघियताको पक्ष्यधर सबै पार्टीहरुको विचमा छलफल आयोजना गरी जनभावना अनुसार सरकारका कमि कमजोरीहरु सच्चाउँदै जनतामा देखिएको असन्तुटि लाई संबोधन गर्न अव ढिला गर्नु हुदैन ।
मुख्य गरी कोभिड महामारी बारे तत्काल भ्याक्सिन ल्याइ कोरोणा भाइरस बाट जनताको जीवन रक्षा गर्नका साथै पूर्णरुपले आर्थिक गतिबिधिहरु सुचारु हुने अवस्था श्रृजना गर्नु पर्दछ । अन्य समस्याहरु समेत प्राथमिकता तोकि समाधान गनु पर्दछ । म सिंगो स्थायी समितिको बैठकको ध्यानाकर्षण गर्दै यसबारे छलफल एंव तत्काल निर्णयमा पुग्नका लागि यो विषेश प्रस्ताव प्रस्तुत गर्दछु ।
जनार्दन शर्मा(क.प्रभाकर)
स्थायी कमिटी सदस्य
नेपाल कम्युनिस्ट पार्टी(नेकपा)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।