विश्वकै सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ घोषणा



काठमाडौं। विश्वकै सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ घोषणा भएको छ। मंगलबार नेपाल र चीनले भर्चुअल माध्यममार्फत् एक विशेष कार्यक्रम गर्दै एकसाथ सगरमाथाको नयाँ उचाइ घोषणा गरेका हुन्।

सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम भएको छ। अर्थात सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ।

यसअघि सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरेको सगरमाथाको उचाई ८८४८ मिटरलाई नेपालले मान्यता दिँदै आएको थियो भने चीनले भने सगरमाथाको उचाइ ८ हजार ८४५ भएको बताउँदै आएको थियो। नयाँ घोषणासँगै अब सगरमाथाको उचाइमा एकरुपमा कायम भएको छ।

नेपाल र चीनले सगरमाथाको संयुक्त उचाइ घोषणा गरेका हुन्। सन् २००५ देखि नेपाल र चीनबीच सगरमाथाको उचाइको विषयमा विवाद थियो।

मन्त्रिपरिषद्को गत १० मंसिरको बैठकले नेपाल र चीनका सर्भे अधिकारीले संयुक्त रूपमा तयार पारेको उचाइलाई अनुमोदन गर्ने निर्णय गरेपछि सार्वजनिक गरिएकोे हो।

गएको वर्ष चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको भ्रमण गर्दा नेपालमा सगरमाथा र तिब्बतमा झोमुलङ्मा भनिने विश्वको सर्वोच्च शिखरको उचाइ संयुक्त रूपमा सार्वजनिक गर्ने सहमति भएको थियो।

सगरमाथाको अहिलेको उचाइ भारतको सर्वे विभागले सन् १९५४ मा घोषणा गरेको थियो। पहिलो पटक सन् १८४७ मा सगरमाथाको उचाइ मापन गरिएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्