दाङ । लमही नगरपालिकामा भूमि सम्वन्धी समस्या समाधान गर्न छुट्टै ईकाइ कार्यालय स्थापना गरिने भएको छ ।
भूमिहिन, सुकुम्बासी, दलित, अव्यवस्थीत वसोवास लगायतको लगत संकलन लगायत भूमी सम्वन्धी समस्या समाधान गर्न नगरपाकिलामा छुट्टै ईकाइ स्थापना गर्ने निर्णय गरिएको हो । मंगलबार लमही नगरपालिका नगर कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता विमबहादुर केसीले जानकारी दिए ।‘भूमि सम्वन्धि समस्या समाधान आयोगको लगत संकलन ईकाइ कार्यालय स्थापना गर्ने निर्णय भएको छ’प्रवक्ता केसीले भने,‘भूमि सम्वन्धी सबै समस्या समाधानको लागी प्रकृया अघी बढाउन यो कार्यालय राख्न थालेका हौं ।’
नगर प्रमुख कुलबहादुर केसीको अध्यक्षतामा बसेको बैठकले कोभिड–१९ का कारण रोकिएको पुराना घरहरुको अभिलेखिकरण सुरु गर्ने पनि निर्णय गरेको छ । अन्तिम पटक पुराना घरहरुको अभिलेखिकरण गर्न ३५ दिने सूचना प्रकाशन गर्ने निर्णय भएको छ । कोइलावास हुलाकी सडक क्षेत्रमा पर्ने संरचना हटाउनको लागी हुलाकी सडक कार्यालय, जिल्ला प्रशासन कार्यालय संग समन्वय गरेर सूचना प्रकाशन गर्ने निर्णय भएको छ ।
सिमा सुरक्षाको लागी दाङको वोर्डर क्षेत्रमा विओपी स्थापना गर्न नगरपालिकाले खर्च व्यहोर्ने निर्णय भएको प्रवक्ता केसीले बताए ।‘नेपाल सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालयले दर्ता गरेको पत्रका आधारमा एउटा विओपी स्थापनाको खर्चको जिम्मा लिने निर्णय भएको छ’उनले भने,‘सिमा सुरक्षा हामी सबैको दायित्व र जिम्मेवारी भित्र पर्ने भएकाले यस बिषयमा निर्णय गरेका हौं ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।