भारतीय सुरक्षाकर्मीकाे दादागिरी, कल्भर्ट निर्माणमा रोक



मङ्सिर २४, काठमाडौँ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–६ कठहवामा कल्भर्ट निर्माणमा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन् ।

भारत उत्तर प्रदेशको महराजगन्ज जिल्लाको झुलनीपुरमा रहेको भारतीय अर्धसैनिक एसएसबी कार्यालयले कल्भर्ट निर्माण रोकेको हो । हुलाकी सडक विस्तारका क्रममा दशगजानजिक निर्माण भइरहेको भन्दै उनीहरूले सोमबारबाट काममा रोक लगाएका हुन् ।

ठेकेदार कम्पनी कन्टेक प्रालिका प्रतिनिधि दीपक थापाले यसअघि सडक विस्तारका क्रममा भारतीय पक्षसँग सहकार्य गरेर अगाडि बढाएको भए पनि अहिले अवरोध गरिएको बताए । ‘काम सुरु गर्दा भारतीय पक्षसँग सहकार्य गरेर अगाडि बढाइएको हो,’ उनले भने, ‘अहिले एसएसबीका सुरक्षा प्रमुख सरुवा भएर आएपछि विवाद खडा गरियो ।’ भारतीय पक्षले काममा अवरोध गरेपछि प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकसहित जिल्लाका सुरक्षा प्रमुखको टोलीले स्थलगत निरीक्षण गरेको छ । ‘नापी विभागका अधिकारीसहितको टोलीले नापनक्सा गरेपछि मात्र यकिन गरेर भन्न सकिन्छ,’ प्रजिअ पाठकले भने, ‘दुवै देशका अधिकारीको समन्वयमा काम अगाडि बढ्ने वातावरण मिलाइनेछ ।’

भारतीय सीमावर्ती कठहवादेखि उत्तरतर्फ १० किलोमिटर सडक निर्माण भइरहेको छ । २२ करोडमा ठेक्का पाएको ठेकेदार कम्पनी कन्टेक प्रालि काठमाडौंले सातवटा कल्भर्टसहित १० किलोमिटर सडक निर्माणको काम भारतीय सिमानाबाट सुरु गरेको छ । भारतीय पक्षले दशगजा क्षेत्रमा निर्माण कार्य गर्न लागेको भन्दै सच्याउन आग्रह गरेको बताएका छन् ।

२०३७ सालमा निर्माण गरिएको अस्थायी प्रकृतिको कल्भर्टमा अहिले पक्की निर्माण गर्न खोज्दा भारतीय पक्षले काम रोक्न नमिल्ने तत्कालीन संविधानसभा सदस्य तथा प्रतापपुरका स्थानीय देवकरण जयसवालले बताए । ‘४० वर्षपहिले बनेको संरचना निर्माणमा भारतीय पक्षले काम रोक्नु दादागिरी हो,’ उनले भने, ‘हाम्रो भूमिमा काम गर्न भारतीय पक्षले रोक्दासमेत सरकार चुप बसेको छ । तत्काल निर्माण कार्य अगाडि बढाउनुपर्छ ।’ कान्तिपुर दैनिकमा नवीन पौडेलले खबर लेखेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्