कांग्रेसको नेताले नै गरे कांग्रेस विधि र विधानमा नचलेको गुनासो



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्र इमान्दार नेतृत्वको खाँचो रहेको बताएका छन् । काठमाडौँ महानगरपालिका–३१ का सभापति दिवंगत उज्वल कोइरालाको शोकसभामा आज आयोजित कार्यक्रममा बोल्दै उनले विसं २०४६ को परिवर्तनपछि पार्टीभित्र मूल्य र मान्यताको राजनीति अन्त्य हुँदै गएको बताए ।

“राजनीतिलाई सेवाभन्दा पेशाको दृष्टिकोण हेर्दा, मूल्य र मान्यताको राजनीति अन्त्य हुँदै गयो”, उनले भने । पार्टीको १४औँ महाधिवेशन स्वच्छ र निष्पक्ष हुनुपर्ने उनको भनाइ थियो । नेता सिंहले वर्तमान सरकार संविधान र सङ्घीयताको मर्म र भावना विपरीत हिँडेको बताए ।

कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले लोकतान्त्रिक दल कांग्रेस विधि र विधान अनुसार चल्न नसक्दा कमजोर हुँदै गएको बताए । पूर्वउद्योगमन्त्री जोशीले वर्तमान सरकारले सुशासन र समृद्धिको नारा दिए पनि उक्त नारालाई व्यवहारमा उतार्न नसकेको आरोप लगाए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्