काठमाडौं । सङ्खुवासभाको खाँदबारी नगरपालिका–८ का पवन बजागाईँले विवाह खर्च कटौती गरेर अक्षयकोष स्थापना गरेका छन् । आर्थिक अवस्था कमजोर भएर उच्च शिक्षा अध्ययनमा समस्या भएका विद्यार्थीलाई सहयोग पुर्याउने उद्देश्यले अक्षयकोषको स्थापना गरेको बजगाईँले बताए । नेपाली सेनामा कार्यरत बजगाईँले विवाहको खर्च कटौती गरेको रकमले अक्षयकोष स्थापना गरेका हुन् ।
बजगाईँले भने, “विवाहका लागि छुट्याएको रकम कटौती र टीका लगाएर जम्मा भएको रकमबाट गरिब विद्यार्थीको भविष्य उज्ज्वल बनोस् भनेर कोषको स्थापना गरेको हूँ ।” आफू नेपाली सेनामा कार्यरत रहेकाले सैनिक र नागरिक सम्बन्ध विस्तारमा समेत सहयोग पुर्याउने लक्ष्यले कोष स्थापना गरेको उनको भनाइ छ ।
बजगाईँले वैवाहिक जीवनको शुभारम्भको अवसरमा वरुण बहुमुखी क्याम्पस खाँदबारीमा एक लाख २५ हजार ५२५ को अक्षयकोष स्थापना गरेका हुन् । उनले आफ्ना बुवाआमा ‘रोहितप्रसाद, पदमकुमारी र तुलसा बजगाईँ’ अक्षयकोष स्थापना गरेका हुन् । दम्पती पवन र समीक्षाले विवाहकै दिन एक कार्यक्रम गरी क्याम्पसका सहायक प्रमुख चित्ररेखा अधिकारीलाई रकम हस्तान्तरण गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।