कोरोना विरुद्धको खोपको अनुमति लिने भारतीय कम्पनीको तयारी



काठमाडौं । विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी, भारतको सेरम इन्स्टिच्युटले पनि कोरोना विरुद्धको खोपको स्वीकृतिका लागि आवेदन दिएको छ । कम्पनीले बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग सहकार्य गरि खोप विकास गरिरहेको छ ।

सेरमका प्रमुख, अदर पुनवालाले यसबारे ट्वीट गर्दै भनेका हुन्, “हामीले बाचा गरे अनुरुप यस वर्षको अन्त्यसम्म भारतमै बनेको खोप, ‘कोभिसिल्ड’ लाई आपत्कालीन प्रयोगका लागि स्वीकृति माग गरिसकेका छौँ ।” त्यस्तै भारतीय खोप निर्माताहरुका अनुसार सेकेन्डरी बजारमा पनि यो खोप बिक्री गर्ने तयारी भइरहेको छ । निजी क्षेत्रले पनि खोप किन्न सक्ने यो पहिलो संकेत भएको बताइएको छ ।

खोप भारतमा मार्चदेखि नै खरिदका लागि उपलब्ध हुने बताइएको छ । उत्पादन गर्न यसअघि नै लाइसेन्स प्राप्त गरिसकेको सेरम इन्स्टिच्युट अफ इन्डियाले हालसम्म ४ करोड डोज तयार गरिसकेको र यो महिना १० करोड उत्पादन गर्ने बताएको छ ।

यो अनुसन्धानात्मक खोप २ देखि ८ डिग्रीको तापमानमा राख्न सकिन्छ भने भारतमा अत्यन्तै सहज रुपमा वितरण गर्न पनि सकिने बताएको छ जहाँ विश्वकै दोस्रो ठूलो संक्रमण दर रहेको छ । भारतीय मिडियाहरुका अनुसार सेरमले बुझाएको आवदेनमा बेलायत, ब्राजिल र भारतबाट प्राप्त क्लिनिकल डाटाका आधारमा कोभिसिल्ड खोप कोभिड संक्रमणविरुद्ध अधिक प्रभावकारी रहेको उल्लेख गरिएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्