राष्ट्रिय जनमोर्चा दाङले गणतन्त्रका विरुद्ध पुरातनवादी शक्ति उठ्न लागेको निष्कर्ष निकाल्दै त्यसका विरुद्ध र वर्तमान राज्य प्रणलीकै विरुद्ध भन्दै संघर्षका कार्यक्रम घोषणा गरेको छ । सो पार्टीका जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा घोराहीमा सम्पन्न बैठकपछि जारी गरिएको विज्ञप्तिमा यस्तो कार्यक्रम घोषणा गरिएको हो । विज्ञप्तिमा ‘अहिले २०६२–६३ को जनआन्दोलनबाट प्राप्त भएका गणतन्त्र, धर्म निरपेक्षता लगायतका प्रगतिशील उपलब्धीहरुका विरुद्ध आवाजहरु उठन थालेका छ्न । हामीले लामो आन्दोलन पछि संविधान सभाको निर्वाचनद्वारा बनेको संविधानमा ती उपलब्धिहरु समेट्न सफल भएका थियौं । सरकार उपलब्धिहरुको रक्षा गर्ने, जनमुखी कामहरु गरेर जनताको भरोसाको केन्द्र बन्ने भन्दा पनि सत्ता स्वार्थको फोहोरी खेलमा लागेर उल्टै बदनाम हुने काम गरेको छ ।’ आचार्यद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
आचार्यद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसै मौकामा विभिन्न शक्ति केन्द्र र प्रतिगामिहरु चलखेल गर्न खोजेका छन् । यो अवस्थामा गणतन्त्र पक्षधरहरु सचेत रहदै सहकार्य गर्न जरुरी छ । भ्रष्टाचारले देश नै बदनाम भएको छ । भ्रष्टाचारमा एसिया कै पहिलो देश नेपाल भन्ने प्रतिवेदनले स्वाभिमानी नेपाली नागरिकको शिर झुकेको छ । त्यसैले यसका विरुद्ध ससक्त कार्यक्रमको खाँचो छ । संघीयताका कारण राज्यको अरबौं सम्पत्ति स्वाहा भएको छ तर त्यसको कुनै उपलब्धि छैन । त्यसैले यसको खारेज गर्न जरुरी छ ।’
भारतीय साम्राज्यवादद्वारा नेपालको राष्ट्रियता माथी हस्तक्षेप भैराखेको छ । लिपुलेक र कालापनी क्षेत्रको नेपाली भूमी उसले आफ्नो नक्सामा सामेल गरेको छ । यसै अवस्थालाई मध्यनजर गरेर गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रियताको रक्षा गरौं, संघीयता र भ्रष्टाचारका विरुद्ध संघर्स गरौं भन्ने मुल नाराका साथ जिल्लाका दशै पालिकाहरुमा बिरोध कार्यक्रम गर्ने निर्णय भएको छ ।
विरोध कार्यक्रमहरुः
शान्तिनगरमा मंसिर २८ गते, जसको प्रमुख वक्ता गणेश आचार्य, दङ्गिसरणमा पौष ६ गते प्रमुख वक्ता ऋषिराम पौडेल , तुलसीपुरमा पौष ७ गते प्रमुख वक्ता कमला जिसी, घोराहीमा पौष ८ गते प्रमुख वक्ता गणेश आचार्य, लमहिमा पौष ११ गते प्रमुख बक्ता रेशम विसी, गढवामा पौष १२ गते प्रमुख वक्ता गणेश आचार्य, राप्तीमा पौष १३ गते प्रमुख वक्ता रश्मिराज नेपाली, बङ्गलाचुलीमा पौष १६ गते प्रमुख वक्ता गणेश आचार्य, बबईमा पौष १५ गते प्रमुख वक्ता गणेश आचार्य रहनेछन् ।
जनमोर्चाले जनताको तहमा आफ्नो पार्टीप्रति आकर्षण बढेको हुँदा पौष महिना भरी संगठन बिस्तार अभियान संचालन गर्ने र माघको पहिलो हप्ता जिल्लाको बैठक बसी राष्ट्रिय सम्मेलन केन्द्रित विभिन्न कार्यक्रमहरु तर्जुमा गर्ने निर्णय भएको छ । जिल्लाका विभिन्न ठाउमा प्राकृतिक श्रोतहरु उत्खनन गर्दा सरकारी मापदण्ड कुल्चने, प्रभावित नागरिकहरुको समस्यालाई नजर अन्दाज गर्ने जस्ता कुराहरु भैरहेकोप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै त्यसको वास्तविक अवस्था पहिचानगरि जनतालाई साथ दिने निर्णय पनि गरेको छ ।
जनमोर्चाले बङ्गलाचुली ६ को तिमिले क्षेत्रमा स्थानीय नागरिकको असहमति हुदाँहुँदै जबर्जस्त चुनढुङ्गा उत्खननको लागि स्थानीय सरकार नै अगुवाइ गरिरहेको भन्दै ज्यादै नै दुःखको कुरा भएको भन्दै स्थानीय सरकारलाई जनताको माग पुरा गर्न पनि भनेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।