कालिकोटका ९ वटै स्थानीय तहमा विप्लवको जनसरकार घोषणा



कालिकोट। जिल्लाका ९ वटै स्थानीय तहमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाल कम्युनिस्ट पार्टीले समानान्तर सत्ता (जनसरकार) घोषणा गरेको छ।

जिल्लाका तीन नगरपालिका र ६ गाउँपालिकामा जनसरकार घोषणा गरेको हो। नेकपा कालिकोटका सेक्रेटरी मनीलाल ऐडी रणदीपले सरकारले स्थानीय निर्वाचन गठन गरेको स्थानीय सरकारको विकल्पमा आफ्नो पार्टीले समानान्तर जनसरकार गठन गरेको जानकारी दिए।

उनका अनुसार जिल्लाको नरहरीनाथ गाँउपालिकामा मनबहादुर विष्ट, सान्नीत्रिवेणी गाउँपालिकामा राजन भण्डारी, रास्कोट नगरपालिकामा प्रकाश सुनार, पचाल झरना गाउँपालिकामा चम्फसिंह बस्नेत, पलाँता गाँउपालिकामा अनरुप विक, खाँडाचक्र नगरपालिकामा अबिरल तिरुवा, शुभकालिका गाउँपालिकामा धर्म विक र महाँवै गाउँपालिकामा धनबहादुर सिंहलाई जनसरकार प्रमुखको जिम्मेवारी दिएको छ।

जिल्लाको तिलागुफा नगरपालिकालाई आधा खाँडाचक्र र आधामहावै गाउँपालिकासँग जोडिएको छ। विप्लवले जिल्ला समन्वय समितिको पनि समानान्तर निकायका रुपमा जिल्ला जनसरकार गठन गरेको छ। जसमा अर्जुन विकलाई जिम्मेवारी दिइएको छ।

जिल्ला सेक्रेटरी ऐडीले भने, ‘हामीले स्थानीय सरकारको समानान्तर सत्ता जनसरकार गठन गरी हरेक स्थानीयतहले आफ्नो कुल बजेटको २ प्रतिशत जनसरकारलाई कर तिर्नुपर्ने, स्थानीय सरकारले विकासमा खर्च गर्ने बजेटको ५० प्रतिशत बजेट जनसरकारलाई दिएर कार्यान्वयन गर्नुपर्ने निर्णय पनि गरेका छौँ।’

ऐडीले स्थानीयतहका जनप्रतिनिधिले पार्टीको जनसरकारले मागे अनुसार कर तिरेर बजेटमा भाग दिए मात्र गाउँमा बस्न पाउने चेतावनीसमेत दिएका छन्। नत्र उनीहरु गाउँबाट लखेटिने उनको भनाइ छ।

जनअदालत गठन

त्यसैगरी विप्लवको पार्टीले जिल्ला अदालतको समानान्तर अदालत जिल्ला जनअदालत पनि गठन गरिएको छ। जसमा न्यायाधीशको जिम्मेवारी कमल बटालालाई दिइएको छ। स्थानीय सरकारदेखि प्रदेश तथा संघीय सरकारका योजनामा अनियमितता भए, गाउँमा जनतालाई अन्याय भए जनअदालतमा उजुरी दिन पाइनेछ।

उजुरी उपर बयान दिन विप्लवको अदालतमा उपस्थित नहुने जनप्रतिनिधि तथा कर्मचारीलाई पहिले युवा संगठन खटाउने त्यसले नसकेपछि जनमुक्ति सेनाले गिरफ्तार गरेर जनअदालतमा हाजिर गराउने र दोषी भए जनकारबाही गर्ने दाबी उक्त समूहले गरेको छ।

विप्लवले जिल्लास्तरमा ११ सदस्य सुरक्षा विभाग गठन गरेको छ। जस अन्तरगत जिल्लामा रहेका आठ वटा एरिया कमाण्डमा प्रत्येक एरियामा एक प्लाटन जनमुक्ति सेना पनि तयार पारेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्