उखुको पैसा माग्न सर्लाहीका किसान काठमाडौं आइपुगे



काठमाडौं । नेपालमा कम्युनिस्ट पार्टीको सरकार छ । कम्युनिस्ट पार्टीको उद्धेश्य किसान र मजदूरको मुक्ति गर्नु रहन्छ । तर बहुमतको कम्युनिस्ट सरकार बनेको ३ वष भइसक्यो तर चिनी मिलका मालिकले किसानलाई करोडौं रुपैयाँ बराबरको रकम दिएका छैनन् ।

चिनी मिलका विरुद्ध लामो समयदेखि आनदोलन गरिहेका किसानहरु धेरैपटक काठमाडौं आएर आन्दोलन गरे, ठूला नेता र सरकारलाई नै भेटेर उखुको मूल्य दिलाइदिन आग्रह गरे तर अहँ कसैले सुनेन ।

यतिमात्र होइन उनीहरुले राष्ट्रपतिलाई पनि भेटेर उखुको मूल्य दिलाइदिन आग्रह गरे तर अझैपनि उखुको मूल्य पाएनन् । चिनी मिलहरूबाट उखुको भुक्तानी नपाएपछि सर्लाहीका किसान आन्दोलन गर्न फेरि काठमाडौं आइपुगेका छन् । उखु किसान संघर्ष समिति सर्लाहीको अगुवाईमा आफूहरु काठमाडौं आएको किसान हरिश्याम यादवले बताए । आइतबार बिहान ११ बजेदेखि माइतीघरमा आन्दोलन थाल्ने तयारी छ । उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रका अनुसार केही काठमाडौं आइसकेका छन् भने अरु आउँदैछन् ।

यस पटकको आन्दोलनमा एक हजार किसानले सहभागीता जनाउँछन्, मिश्रले भने । चिनी मिलबाट वषौंदेखि भुक्तानी नपाएर पीडित बनेका किसानहरु सरकारले समेत झुलाएको गुनासो गर्छन् । गतवर्ष उद्योग वाणिज्य तथा आपर्ति मन्त्रालयले एक महिनाभित्रै भुक्तानी दिलाइदिने भनेर पुष १८ गते किसानहरुसँग सहमति गरेको थियो तर एक वर्ष बित्दा किसानले सबै रकम पाएका छैनन् ।

सरकारी तथ्याङ्क अनुसार उखु मिलसँग किसानले अझै ५२ करोड भन्दा धेरै बक्यौता पाउनु पर्नेछ । श्रीराम सुगर मिलले २६ करोड, इन्दिरा सुगर मिलले ४ करोड ७० लाख, लुम्बिनी सुगर मिलले ८ करोड ४१ लाख तथा अन्नपूर्ण सुगर मिलले १७ करोड रुपयाँ उखु किसानलाई बुझाउन बाँकी छ ।
इन्दिरा र अन्नपूर्ण तथा श्रीराम सुगर मिलले किसनको बक्यौता तिर्न जग्गा बिक्रीको प्रस्ताव राखेको मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले बताइन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्