बागलुङको ताराखोलामा औद्योगिक गाउँ बनाउने कार्य सुरु



बागलुङ । बागलुङको ताराखोला गाउपालिकामा औद्योगिक ग्रामको पूर्वाधार निर्माण शुरु भएको छ । औद्योगिक ग्रामको शनिबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले शिलान्यास गरे । ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ को राष्ट्रिय लक्ष्यअनुरूप गाउँपालिकाको वडा नं १ अमरभूमि, भुस्कातमा औद्योगिक ग्राम बन्न लागेको हो । एक सय ३८ रोपनी क्षेत्रफलमा निर्माण हुने औद्योगिक ग्राममा सङ्घ, प्रदेश र स्थानीय गरी तीनैतहका सरकारको लगानी छ ।

गत आवमा सङ्घ सरकारको उद्योग मन्त्रालयबाट विनियोजित ९२ लाख बजेटबाट विस्तृत आयोजना प्रतिवेदन बनाउनेदेखि पूर्वाधार तयारीका कामलाई अघि बढाइएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए ।

“पर्खाल, घेराबार र प्रवेशद्वार निर्माणको काम शुरु भएको छ, अर्को वर्षसम्ममा संरचना तयार गरिसकेर औद्योगिक ग्राम सञ्चालनमा ल्याउने लक्ष्य छ”, उनले भने । प्रदेश सरकारले चालु आवमा रु ६५ लाख बजेट उपलब्ध गराउने प्रतिबद्धता गरेको छ ।

गाउँपालिका आफैँले ३० लाख बजेट छुट्ट्याएको छ । यो वर्ष जग्गा ‘प्लटिङ’, विद्युत विस्तार, खानेपानी आपूर्तिलगायत संरचना निर्माणको काम हुने जनाइएको छ । दश वटा उद्योग चलाउने योजनासहित पूर्वाधार तयार गर्न लागिएको अध्यक्ष घर्तीले जनाए ।

स्थानीय पहिचानका रूपमा चिनिने ‘स्लेट ढुङ्गा’, नेपाली हाते कागज, पेय पदार्थ, जडिबुटी तथा कृषि र पशुजन्य उत्पादनमा आधारित उद्योग सञ्चालन गर्ने गाउँपालिकाको योजना छ । स्थानीय साधन, स्रोतको उपयोगसँगै रोजगारी सिर्जना र आर्थिक समृद्धिमा औद्योगिक ग्रामले टेवा पुर्याउने विश्वास लिइएको छ ।

कृषि, पशुपालन, खनिज र वनजन्य उत्पादनका हिसाबले अग्रणी मानिने ताराखोलामा औद्योगिक ग्राम बन्ने भएपछि गाउँले उत्साहित छन् । ताराखोला गाउँपालिकासँगै बागलुङ नगरपालिकामा पनि औद्योगिक ग्राम निर्माण हुँदैछ । नगरपालिकाको वडा नं १३ कालाखोलामा जग्गा व्यवस्थापन गरिएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्