प्रहरी झुक्किएर विप्लव नेकपाका दर्नाललाई छोडेर उनका भाईलाई पक्रियो



काठमाडौं । विप्लव नेकपाका कार्यकर्ता प्रेम दर्नाललाई पक्रनु पर्ने प्रहरीले झुक्किएर उनका भाईलाई पक्राउ गरेर फर्किएको छ । सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाई गर्दै आइतबार उनलाई रिहा गर्न आदेश दिएपनि फेरि पक्राउ गर्न गएको प्रहरीले झुक्किएर भाइ लोकेन्द्र दर्नाललाई पक्राउ गरेको हो ।

मंसिर ६ मा दोलखा बैतेश्वरका प्रेम दर्नाल र दोलखा बिगु घर भएका सो पार्टीका आर्थिक विभागका सेक्रेटरी सञ्जीव नेपालीलाई प्रहरी प्रधान कार्यालयको टोलीले ललितपुरबाट पक्रेको थियो ।

महानगरीय प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको दुवैलाई सर्वोच्चले आइतबार जिल्ला अदालतका श्रेस्तेदारको रोहबरमा छाड्न आदेश गरेको थियो ।

सो आदेशपछि प्रहरीले उनीहरुलाई पक्रन महानगरीय प्रहरी परिसर भक्तपुरको टोली ललितपुर पुगेपनि दर्नालको साटो भाईलाई समातेर थुनामा राखिएको छ ।

लोकेन्द्र र सञ्जीव दुवैलाई भक्तपुर प्रहरीले अभद्र व्यवहारको मुद्धामा जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद लिएर थुनामा राखेको छ । पक्राउ गर्न जाँदा झुक्किएर भाईलाई गिरफ्तार गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका एक अधिकृतले बताए ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्