काठमाडौं। नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले केपी ओली नेतृत्वको सरकार समावेशिता विरोधी भएको बताएका छन्। कांग्रेसद्वारा जनकपुरमा आयोजित विरोध सभामा सिंहले संविधान र लोकतन्त्रविरोधी गतिविधिमा डुबेको वर्तमान सरकार समावेशिताको सिद्धान्तसमेत अवमूल्यन गरेर अघि बढीरहेको बताएका हुन्।
आफ्नो गल्तीको ढाकछोप गर्न सरकारले संसद बन्द अवस्थामा राखेको आरोप पनि उनले लगाए। नेता सिंहले जनताको कुरा उठाउने थलोलाई बन्द गरेर सरकारले तानाशाही प्रवृत्ति देखाएको बताए। ‘चलिरहेको संसदलाई एक्कासी बन्द गरेर सरकारले आफ्नो गल्ती ढाकछोप गराउन चाहेको छ,’ उनले भने, ‘आफूमाथि गाह्रो हुन्छ। जनप्रतिनिधिले आवाज उठाउँछन् भनेरै कुनै प्रक्रिया पूरा नगरीकन, सभामुखलाई सहभागी नगराई संसद बन्द गराइएको छ।’
जनताको कुरा संसदमा उठाउन नपाएपछि कांग्रेस सडकमा आएको पनि उनले बताए। प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्व शून्य सहनशीलता अपनाएको भनेपनि उनकै दायाँ बायाँ भ्रष्टाचार भइरहेको सिंहले बताए। ‘शून्य सहनशीलता छ भनेर हामीले हेरेका छौं’ उनले भने, ‘बाइडबडी, सुनकाण्डसहित कोरोनाकालमा पनि व्यापक भ्रष्टाचार भएको छ। यही कुरा लुकाउन संसद बन्द गराइएको छ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।