काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन्। बुधबारको स्थायीखसमिति बैठकमा प्रधानमन्त्री ओलीले पुनः गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेका हुन्।
ओलीले आजको बैठकमा अबको प्रधानमन्त्री बामदेवलाई बनाउने प्रस्ताव गरेको स्थायी समितिका एक सदस्यले बताए। पार्टीका पहिलो तहका सबै नेता प्रधानमन्त्री भइसकेकोले अब प्रधानमन्त्री बन्ने पालो बामदेवको आएको ओलीले स्थायी समितिमा भनेको ती नेताले बताए।
‘बैठकको यो अघिल्लो लहरमा बसेका हामी पाँचजना छौं। पाँचजना मध्ये चारजना प्रधानमन्त्री भइसकेका छौं। अब बाँकी बामदेवजी हो, अब उहाँलाई बनाउँ। चुनावबाट ल्याएर गर्ने कि अघिनै अर्कोतिरबाट ल्याउने हो छलफल गरौं,’ ओलीको भनाई उधृत गर्दै ती नेताले भने। पहिलो लहरमा ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेव बसेका थिए।
यसअघि बैशाखमा आफूविरुद्ध प्रचण्ड माधव नेपाल पक्षले समिकरण बनाएपछि पनि ओलीले सचिवालय बैठकमा बामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।