सैघाली खबर,
काठमाडौं, २१ पुस।–यस वर्षको भूकम्प सुरक्षा दिवसको नारा ‘सबल समुदाय र स्थानीय सरकारः भूकम्पीय सुरक्षाको बलियो आधार’ तय गरिएको छ । गृह मन्त्रालयमा बसेको २० औँ भूकम्प सुरक्षा दिवस राष्ट्रिय समितिको बैठकले यस वर्षको नारा र मूल समारोह काठमाडौंमा गर्ने गरी राष्ट्रिय कार्यक्रम तय गरेको हो ।
समितिको बैठकले माघ २ गते काठमाडौंको वसन्तपुरमा मूल समारोहको कार्यक्रम गर्ने र कार्यक्रम व्यवस्थापनको जिम्मा काठमाडौं महानगरपालिकालाई दिने निर्णय पनि गरेको गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले जानकारी दिनुभयो ।
माघ २ गते नै बिहान ११ बजे काठमाडौं न्युरोडको भूगोलपार्कमा विगतका भूकम्पमा परि निधन भएका व्यक्तिको सम्झनामा स्मृतिसभा तथा असन, इन्द्रचोक, नरदेवीलगायतका स्थान हुँदै भूकम्पीय सुरक्षा र्याली गरिने बैठकमा गृह मन्त्रालयका सह–सचिव कृष्णबहादुर राउतले जानकारी दिनुभयो ।
गृह सचिव सापकोटाले विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत सरकारी तथा गैर सरकारी संसघस्थाले गर्ने सबै कार्यक्रम राष्ट्रिय कार्यक्रम अन्तर्गत नै पर्ने भएकाले विभिन्न जिल्लामा कार्यक्रम गरी दिवसलाई सफल बनाउन आव्हान गर्नुभयो ।
१९९० साल माघ २ गते गएको महाभूकम्पको सम्झना गर्दै भूकम्पीय सुरक्षा अभिवृद्धिका लागि प्रतिवद्धता व्यक्त गर्न र भूकम्पीय सुरक्षाका क्षेत्रमा भए गरेका प्रयत्नको लेखाजोखा तथा भावी कार्ययोजना तय गर्ने मुख्य उद्देश्यका साथ २०५५ सालदेखि नेपालले भूकम्प सुरक्षा दिवस मनाउने गरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।