अब नेपालीलाई नेपालबाटै युट्युब मनिटाइज गर्न सकिने



काठमाडौं। नेपाली युट्युबरलाई खुसीको कुरा छ। युट्युबले नेपाललाई पनि आफ्नो पार्टनर प्रोगाम उपलब्ध हुने सूचीमा राखेको छ। यसको अर्थ युट्युबले उपलब्ध गराइरहेका सेवा तथा आम्दानीको प्रक्रियामा नेपालबाटै सहभागी हुन सकिनेछ।

युट्युबमार्फत् नेपालीहरुले आम्दानी गरिरहेको भएपनि पार्टनर प्रोग्रामको सूचीमा नहुँदा मनिटाइज गर्दा अन्य देशको नाम राख्नुपर्ने बाध्यता थियो। भिडियो सेयरिङ प्ल्याटफर्म युट्युबमा नेपाली कन्टेन्ट निर्माताको बाक्लो उपस्थिति भएपनि मनिटाइज गर्दा भने युट्युबले नेपाललाई पहिचान नै नगरेको अवस्था थियो।

नेपालीले भारत, अमेरिकाजस्ता देशको नाम राखेर सोही देशको प्रयोगकर्ता देखाएर आम्दानी गर्नुपर्ने अवस्था थियो।सूचीमा नेपालको प्रवेशसँग अब कुनै पनि युट्युब भिडियो कन्टेन्ट निर्माताले मनिटाइज गर्ने अवस्थामा देशको नाम नेपाल उल्लेख गरेर नै आम्दानी गर्न सक्नेछन्।

यसबाहेक युट्युबले सार्वजनिक गर्ने नयाँ किसिमका सेवा तथा नियमहरु नेपाली प्रयोगकर्ताका लागि लागू हुनेछ। युट्युबको पार्टनर प्रोग्रामका अहिले १ सय २२ देश छन्। एक हजार सब्सक्राइबर पुगेका र चार हजार घन्टा भिडियो हेरिएको समय पूरा भएमा युट्युबमा मनिटाइज गर्न सकिन्छ। अहिले नेपाली युट्युबरले महिनामै ४/५ लाख कमाउने अवस्थामा पुगिसकेका छन्। टेकपानाबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्