‘एनसेल जबशप’ शुरु, अब एनसेलका ग्राहकलाई एनसेलनै रोजगारी दिने



काठमाडौं। अब एनसेलका ग्राहकले आन्तरिक श्रम बजारमा उपलब्ध रोजगारीका अवसर तथा आफूलाई आवश्यक जनशक्ति सजिलै खोज्न सक्ने भएका छन्। एनसेल आजियाटा लिमिटेडले नयाँ सेवा ‘एनसेल जबशप’ शुरु गरेको हो।
यो सेवाले रोजगारी खोज्ने र प्रदान गर्ने दुवै पक्षलाई अनलाइनमार्फत् आपसमा जोड्नेछ। एनसेलले आफ्नो हाल संचालनमा रहेको अभियान ‘अनपज’ (#unpause) अन्तर्गत यो सेवा संचालनमा ल्याएको हो।

हालको विषम परिस्थितीमा भविष्यको पुर्नविचार गर्दैै अघि बढ्न अभिप्रेरित गर्ने उद्देश्यका साथ यो अभियान सुरु गरिएको कम्पनीले जनाएको छ। एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले कोभिड–१९ महामारीले गर्दा धेरैले रोजगारी गुमाएको उल्लेख गरे।

‘भर्चुअल रुपमा सम्पर्कमा रहन सकिने विकासले गर्दा अहिलेको अवस्थामा अनलाइनमार्फत एक अर्कासँग सम्पर्क स्थापित गर्न सकिने भएको छ,’ उनले भने ।’

‘कार्यस्थलभन्दा टाढै बसेर पनि काम गर्ने र रोजगारीका अवसरहरु खोज्ने प्रवृत्ति बढिरहेको छ। यस्तो बेला कामको खोजिमा रहेका व्यक्तिलाई सिधै रोजगारदातासँग जोड्ने यो नवीन सेवा ल्याउन पाएकोमा हामी हर्षित छौं,’ उनले अगाडि भने।

अर्थतन्त्रमा विस्तारै सुधार हुन थालेको बेलामा एनसेलको जबशपले विषम परिस्थितीमा काम गुमाएकालाई विभिन्न रोजगारीका अवसरसँग जोड्ने अवसर उपलब्ध गराउने श्रीवास्तवले बताए। उनले भने, ‘कामको खोजीमा रहेका र रोजगारदाता दुवै पक्षलाई एकै ठाउँमा भेट गराउने यो सेवाले ठूलो महत्व राख्ने विश्वास लिएका छौं।’

महामारीको प्रभाव सबै क्षेत्रमा परेको छ र रोजगारीबाट धेरै मानिस बन्चित हुन पुगेका छन्। यस्तो बेलामा एनसेल जबसश रोजगारीको अवसरको खोजीमा रहेका र आफ्नो कामका लागि जनशक्ति खोजी गरिरहेकालाई एक उपयोगी माध्यम हुने आशा गरिएको छ।

हालको शुरुवाती अवस्थामा शारीरिक रुपमा काम गर्ने श्रमिक तथा कामदार र यस्ता जनशक्ति चाहनेले यो सेवा आफ्नै मोबाइलबाट लिन सक्नेछन्। कामको खोजीमा रहेका व्यक्ति र काम दिने व्यक्तिको आवश्यकताबीच प्रत्येक पटक मेल खाएपछि दुवै पक्षले एसएमएसमार्फत् सन्देश पाउन सक्छन्।

एनसेलको सेवा प्रयोग गर्ने र कामको खोजीमा रहेका जो कोही श्रमिक वा कामदारले रोजगारी खोजीरहेको व्यक्तिका रुपमा यो सेवा सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ। यसका लागि आफूले खोजीरहेको काम र आफ्नो दक्षता अनुसार प्रोफाइल बनाएर यो सेवा सुचारु गनुपर्ने हुन्छ।

कामदार खोजीरहेका व्यक्तिले पनि आफ्नो आवश्यकता खुलाई प्रोफाइल बनाउनुपर्ने हुन्छ। जब काम खोज्ने र कामदार खोज्नेको आवश्यकता सम्बन्धी पोस्ट मेल खान्छ, तब एसएमएसमार्फत दैनिक रुपमा दुवै पक्षलाई यस सम्बन्धी जानकारी पठाइन्छ।

यो सेवा लिन इच्छुक ग्राहकले ८१७१३७३ डायल गरेर अथवा एनसेलजबशप डट कम वेबसाइटमा गएर प्राप्त निर्देशन अनुसार यो सेवा सुचारु गर्न सक्नेछन्। काम दिने व्यक्ति वा रोजगारदाताको लागि एउटा आवश्यकता पोस्ट गर्न कर सहित ६.३८ रुपैयाँ शुल्क लाग्नेछ।

एक पटक पोस्ट गरेको कामको विवरण एक हप्तासम्म रहने बताइएको छ। त्यसैगरी कामको खोजीमा रहेका ग्राहकले तीन दिन, सात दिन, एक महिना, छ महिना वा वार्षिक रुपमा गरी विभिन्न समयसीमा तय गरेर यो सेवा लिन सक्नेछन्।

कामको खोजीमा रहेका व्यक्तिले कर सहित ३.८३ रुपैयाँमा तीन दिनको प्याक खरिद गर्न सक्नेछन्। त्यसै अनुसार प्याकको समयसीमाभित्र सम्बन्धित कामदारको प्रोफाइल सक्रिय रहनेछ। ग्राहकले कर सहित ८.९४ रुपैयाँमा सात दिनको र कर सहित ३८.३१ रुपैयाँमा ३० दिनको समयसीमा रहेको प्याक सुचारु गर्न सक्नेछन्। थप समयको लागि आफ्नो प्रोफाइल सक्रिय राख्न चाहने ग्राहकले ६ महिना र १२ महिना समयसीमा रहेको प्याक कर सहित क्रशमः १५३.२२ रुपैयाँ र २२९.८४ रुपैयाँमा सुचारु गर्न सक्नेछन्।

यही अनपज अभियान अन्तर्गत एनसेलले यस अघि महिलाहरुलाई लक्षित गर्दै आकर्षक गो सिम योजना ल्याएको थियो। जसअन्तर्गत एनसेलले आगामी दिनमा समेत ग्राहकहरुका लागि विभिन्न सेवा सुविधा ल्याउने जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्