काठमाडौं । उखु किसानहरुले काठमाडौंमा गरिरहेको आन्दोलन र धर्ना रोक्न सरकारले गरेको आग्रहलाई उनीहरुले अस्वीकार गरिदिएका छन् । श्रीराम सहितका चारवटा चिनी मिलले ६५ करोडभन्दा भन्दा बढी रकम नदिएपछि सर्लाही, कपिलवस्तु, नवलपरासीका उखु किसान आन्दोलनरत छन् ।
आन्दोलन चर्किँदै गएपछि सबैभन्दा धेरै ३५ करोड बक्यौता रहेको श्रीराम सुगर मिलले शुक्रबार १६ करोडभन्दा बढी रकम सरकारको रोहबरमा पठाएको बताएको छ र बाँकी रकम पनि सोमबारसम्म किसानको खातामा पठाउने बताएको छ । लगत्तै उद्योग, वाणिज्य, आपूर्ति मन्त्री लेखराज भट्ट र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदेयश त्रिपाठी धर्नास्थल माइतीघर मण्डला पुगेर आन्दोलन स्थगन गर्न किसानहरुलाई आग्रह गरेका थिए ।
तर आन्दोलनरत किसानहरुले भने अझै विश्वासको वातावरण नबनेको बताए । शुक्रबार साँझ काठमाडौंमा बसेको उखु किसान संघर्ष समितिको बैठकले भुक्तानी दिलाउन सरकारले गरेको प्रयास सकारात्मक भएपनि विश्वासको वातावरण नबनेको भन्दै आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ । ‘केही चिनी मिलबाट भुक्तानीको सुरुआत थालिएकोमा सरकारलाई धन्यवाद छ तर अझै विश्वासको वातवरण बनेको छैन, त्यसैले आन्दोलन नराक्ने निर्णय गर्यौं,’समितिका संरक्षक राकेश मिश्रले भने ।
श्रीराम सुगर मिलले भुक्तानी थालेको जानकारी सरकारबाट पाएपनि अन्य मिलले रकम दिने सुनिश्चित हुन नसकेको किसानहरुले बताए । संघर्ष समितिले भुक्तानी ग्यारेन्टीको कार्यविधि निर्माण गर्न वा उच्चस्तरीय समिति बनाउन सुझाव दिने निर्णय गरेको मिश्रले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।