अन्नपूर्ण चिनी मिलका सञ्चालकविरुद्ध पनि पक्राउ पूर्जी जारी, श्रीरामले जम्मा गर्‍यो १६ करोड रुपैयाँ



काठमाडौं । उखु किसानको बक्यौता रकम भुक्तानी नगर्ने अर्को एक चिनी मिलका सञ्चालकविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

प्रदेश नम्बर २ को सर्लाहीस्थित अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेश अग्रवालविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।

२ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) धिरज प्रताप सिंहले अहिले अन्नपूर्ण चिनी मिलका सञ्चालक अग्रवालको खोजी भइरहेको जानकारी दिए ।

अग्रवालले उखु किसानलाई १७ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी छ । किसानले बुधबार जिल्ला प्रशासन कार्यालय सर्लाहीमा जाहेरी दिएपछि अग्रवालविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो ।

यस्तै, सञ्चालकविरुद्ध पक्राउ पूर्जी जारी गरिएपछि रौतहटको श्रीराम सुगर मिल्सले किसानको खातामा पैसा पठाउन थालेको छ ।

श्रीराम सुगर मिल्सले शुक्रबारदेखि किसानको खातामा पैसा पठाउन थालेको हो । श्रीराम सुगर मिल्सले शुक्रबार ५ हजार ३ सय जना किसानको खातामा पैसा पठाइएको जनाएको छ ।

२ नम्बर प्रदेश प्रहरीका प्रमुख डीआईजी सिंहका अनुसार श्रीराम सुगर मिल्सले १६ करोड ४४ लाख रुपैयाँ किसानको खातामा जम्मा गरेको छ ।

उखु बेचेको भुक्तानी नपाएका किसानले श्रीराम सुगर मिल्सका सञ्चालकविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीमा जाहेर परेपछि जिल्ला अदालत रौतहटले श्रीराम सुगर मिल्सका सञ्चालकसहित ३ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

श्रीराम सुगर मिल्सका सञ्चालक हितेश गोल्छा, सञ्चालक विशाल अग्रवाल र कार्यकारी उपाध्यक्ष पद्मकान्त झाविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

उखु उत्पादक संघ रौतहटका वरिष्ठ उपाध्यक्ष रामप्रमोद यादवका अनुसार श्रीराम सुगर मिल्सले आर्थिक वर्ष २०७१/७२ को १२ करोड, ०७५/७६ को २८ करोड ५० लाख र ०७६/७७ को ५० लाख रुपैयाँ गरी उखु किसानलाई ४१ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

किसानलाई करोडौं रुपैयाँ भुक्तानी दिन बाँकी रहेको अवस्थामा सञ्चालकहरुले गत साउन २१ गते एक सूचना टाँस गरेर मिल्स सधैंका लागि बन्द भएको बताएका थिए । त्यसयता मिल्सका सञ्चालकहरु किसानको सम्पर्कमा आएका थिएनन् ।

श्रीराम सुगर मिल्सले भने गत आर्थिक वर्षमा खरीद गरिएको उखुमध्ये २५ करोड ९० लाख ५३ हजार ५ सय २५ रुपैयाँ मात्रै भुक्तानी गर्न बाँकी रहेको दाबी गरेको छ ।

आफूहरुले पाउनुपर्ने भुक्तानी नपाएपछि उखु किसानहरु अहिले आन्दोलनका लागि काठमाडौं आएका छन् । सरकारले गत वर्ष नै उखु किसानलाई भुक्तानी दिलाउन समन्वय गर्ने भनेपनि किसानहरुले यस वर्ष पनि सहज रुपमा भुक्तानी पाएनन् ।

किसानहरुले काठमाडौंमा आन्दोलन शुरु गरेपछि गृह मन्त्रालयले बक्यौता बापतको रकम भुक्तानी नगर्ने चिनी मिलका सञ्चालकविरुद्ध ठगीमा कारबाही गर्न जिल्लास्थित प्रहरी र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्