प्रधानमन्त्री ओलीकाे आश्वासन : कसलाई कुन पदको अफर



काठमाडौं। पार्टीमा अल्पमतमा रहेका नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली शनिबार दिनभरि राजनीतिक भेटघाटमा व्यस्त रहे। स्थायी कमिटी बैठकमा आफू विरुद्ध कदम चाल्न सक्ने सुईको पाएका ओलीले आज नेताहरूलाई आफूतिर तान्ने र त्यो नमाने तर्साउने रणनीति एकसाथ जारी राखेका छन्।

उनको आजको राजनीतिक भेटघाटका मूलतः तीन उद्देश्य देखिन्छ, १. वामदेवलाई अध्यादेशको कार्ड फालेर आफ्नो कित्तामा तान्ने वा तटस्थ राख्ने, २. त्यसपछि स्थायी समितिमा जारी बहसलाई सचिवालयमा फर्काउने र समय लम्बाउने, ३. उल्लेखित दुवै उपाय सम्भव नभए अध्यादेश यथावत् राखेर नेताहरूलाई तर्साउने।

एकातिर सहमतिका लागि आग्रह र अर्कोतिर राज्य शक्ति लगाएर दमन गर्ने रणनीति सँगसँगै अघि बढाएपछि कुनै पनि नेता ओलीको बोलीमा विश्वास गर्न सक्ने अवस्थामा छैनन्। यता प्रचण्ड-नेपाल समूह ओलीसँग निर्णायक लडाइँ लड्ने प्रण गरेका छन्। पार्टीको बहस स्थायी समितिमा झरिसकेका कारण अब सचिवालयमा होइन, केन्द्रीय समितिमा पुर्‍याएर विवादको छिनोफानो गर्ने तयारीमा बहुमत समूह जुटेको छ।

तर प्रधानमन्त्री ओलीले भेटघाटका क्रममा नेताहरूलाई विभिन्न पदहरू दिने आश्वासन सहित आफूतिर तान्ने प्रयास भने जारी राखे।

कसलाई कुन पदको अफर

प्रचण्ड : महाधिवेशनपछि एकल अध्यक्ष, चुनावपछि प्रधानमन्त्री।
माधव नेपाल : पूर्वएमाले ब्युताए पार्टी अध्यक्ष, चुनावपछि प्रधानमन्त्री।
वामदेव गौतम : प्रचण्ड-नेपाल समूह छोडे अहिल्यै अध्यक्ष, चुनावी सरकारको प्रधानमन्त्री, आफ्नो समूहको उत्तराधिकारी।
रामबहादुर थापा बादल : कित्ता क्लियर गरेर आए आफ्नो उत्तराधिकारी, नवगठित एमालेको अध्यक्ष
ईश्वर पोखरेल : आफ्नो समूहको उत्तराधिकारी, आफ्नो कार्यकालपछि प्रधानमन्त्री र पार्टी अध्यक्ष।
सुरेन्द्र पाण्डे : आफूलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट जोगाए सहमति गरेर पार्टी महासचिव।
शंकर पोखरेल : नेकपाभित्र जारी विवादलाई मिलाएपछि तत्कालै पार्टीको महासचिव।
टोपबहादुर रायमाझी : आफ्नो कित्तामा उभिएर पूर्वमाओवादी नेता तानेमा सरकारमा उपप्रधानमन्त्री।
हरिबोल गजुरेल : तेस्रो धार जन्माएर आफ्नो संकट टरेपछि सरकारमा रोजेको मन्त्रालय।
घनश्याम भुसाल : पार्टीभित्र मध्यमार्गी भूमिका खेले सरकार पुनर्गठनपछि रोजेको मन्त्रालय।
लेखराज भट्ट : नेकपामा आफ्नो बहुमत पुगेपछि सुदूरपश्चिम प्रदेशको इञ्चार्ज।
भीम रावल : सरकारको समर्थनमा उभिए रोजेको मन्त्रालयसहित उपप्रधानमन्त्री।

झलनाथ खनाल र नारायणकाजी श्रेष्ठसँग भने ओलीले त्यस्तो कुनै अफर गरेका छैनन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्