काठमाडौं। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले गृहमन्त्री एवं पार्टी सचिवालय सदस्य रामबहादुर थापा बादललाई तेस्रो राजनीतिक प्रतिवेदन ल्याउन प्रस्ताव गरेका छन्। सचिवालयमा प्रवेश गरेका ओली र प्रचण्डका प्रस्ताव अहिले स्थायी कमिटीमा पुगेका छन्। पार्टीमा प्रस्तुत प्रतिवेदन बैठकले नै टुंगो लगाउनुपर्ने प्रचण्ड-नेपाल पक्षको अडान छ। प्रचण्डको प्रस्ताव फिर्ता नहुने भएपछि ओलीले बादलमार्फत तेस्रो प्रतिवेदन ल्याउने प्रयास गरेका हुन्।
शनिबार खुमलटारमा भएको भेटमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन र पत्राचार फिर्ता गर्न अस्वीकार गरेपछि बाहिरिएका प्रधानमन्त्री ओलीले लगत्तै पुल्चोकस्थित निवासमै पुगेर गृहमन्त्री बादलसँग भेट गरेका थिए। नेकपाका एक केन्द्रीय सदस्यका अनुसार प्रधानमन्त्रीको त्यस्तो प्रस्तावबारे बादलले भने कुनै त्यस्तो ठोस जवाफ दिएका थिएनन्। यद्यपि, उनी दुवै अध्यक्षको प्रतिवेदन फिर्ता गरेर साझा प्रतिवेदनमाथि छलफल हुनुपर्ने पक्षमा छन्।
स्थायी कमिटीमा प्रचण्ड-नेपालनिकट मानिने एक सदस्यले प्रधानमन्त्री ओलीले बादललाई गरेको प्रस्तावबारे टिप्पणी गरे, ‘उहाँले पूर्वमाओवादीभित्र विभाजन ल्याउने र बहुमत–अल्पमतको खेलमा आफ्नो अनुकूल बनाउने प्रयत्न गर्नुभएको छ।’ प्रधानमन्त्री ओली गृहमन्त्री बादलको निवासमा आएको जानकारीपछि मन्त्रीहरू भानुभक्त ढकाल, वसन्त नेम्वाङ, डा. शिवमाया तुम्बाहङ्फे, पद्मा अर्याललगायत नेताहरू त्यहीँ भेला भएका थिए। नयाँ पत्रिकाबाट
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।