कोरोना बढेपछि धमाधम बन्द हुन थाले शैक्षिक संस्थाहरु



कञ्चनपुर । लकडाउन खुकुलो पारिएसँगै कञ्चनपुरमा जनजीवन सामान्य बन्दैथियो । तर फेरि सङ्क्रमण दर बढ्न जाँदा त्यहाँ निषेधाज्ञा लागू हुनुका साथै शैक्षिक संस्थाहरु धमाधम बन्द हुन थालेका छन् ।

यहाँको बजार पूर्णरूपमा खुला रहेको र केही सातायता सरकारले स्थानीय तहलाई विद्यालय सञ्चालनको अनुमति दिएपछि स्थानीय तहहरु तोकिएका मापदण्ड पूरा गरेर विद्यालय सञ्चिालन गरिरहेका थिए । सञ्चालनमा आएका केही विद्यालयमा शिक्षक तथा विद्यार्थीहरुलाई एकसाथ कोरोना देखिएपछि पुनः विद्यालयहरु बन्द भएका हुन् ।

त्यसैगरी दुई दिनअघि भीमदत्त नगरपालिकाले विज्ञप्ति जारी गर्दै विद्यालय बन्द गरिएको जनाएको छ । शनिबार यहाँको दक्षिण क्षेत्रमा रहेको बेलौरी नगरपालिकाले एक हप्तासम्मका लागि नगर क्षेत्रभित्र निषेधाज्ञा जारी गरेको छ । शिक्षा विकास तथा समन्वय एकाइ कञ्चनपुरका प्रमुख भरतबाबु सुवेदीले विद्यालय सञ्चालन कार्य ढाँचा, २०७७ अनुसार पालिकाबाट स्वीकृति लिएर विद्यालय सञ्चालन गर्न सकिने शिक्षा मन्त्रालयबाट निर्देशिका जारी भएको बताए ।

महामारीको स्थितिलाई मध्यनजर गर्दै बेलौरीमा सङ्क्रमण थप फैलिन नदिन र भिड्भाड न्यूनीकरण गर्न आजदेखि पुस ११ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको बेलौरी नगरपालिकाले जनाएको छ ।

नगर क्षेत्रभित्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी सङ्घसंस्था, वित्तीय संस्था, शिक्षण संस्था, व्यवसाय, सीमा नाका र सवारी साधनको आवतजावत पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख पोतिलाल चौधरीले जानकारी दिए । औषधालय, आयल स्टोर तथा उखु किसानका उखु ढुवानी साधन भने खुला रहने बताइएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्