काठमाण्डौ । नेकपा उपाध्यक्ष वामदेव गौतमलाई चुनावी सरकारको उपप्रधान तथा गृहमन्त्री बन्ने लगभग निश्चित भएको छ ।
संसद विघटनको सिफारिस गरे लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई फोन गरि चुनावि सरकारको उपप्रधानमन्त्री सहित गृहमन्त्री बन्न प्रस्ताव गरेपछि गौतमले पनि सकारात्मक जवाफ दिएको गौतम निकट एक एकनेताले जनतापाटीलाई जानकारी दिए ।
‘अहिले गृहमन्त्री बन्नुस्, चुनावपछि तपाईलाई प्रधानमन्त्री बनाउने जिम्मा मेरो भनेर प्रधानमन्त्रीले भनेपछि गौतमले हस्, म विचार गर्छु भनिहाल्नु भयो ।’ ती नेताले भने । उनका अनुसार ओलीले आफ्नो कदमबाट सबैभन्दा बढी फाइदा ‘तपाईलाई हुने’ भन्दै गौतमलाई फुक्र्याएका थिए । अहिलेकै अवस्थामा २ वर्षपछि चुनाव हुने र त्यतिबेला गौतम प्रधानमन्त्री बन्ने नबन्ने टुंगो नलागेको तर संसद विघटन भएर बैशाखमै चुनाव हुने भएपछि त्यसबाटै वामदेव प्रधानमन्त्री हुने पक्का रहेको भन्दै ओलीले उनलाई गृहमन्त्रीको लागि राजी बनाएको बताइएको छ ।
स्रोतका अनुसार बुधबार भित्रै मन्त्री परिषद् फेर वदल गर्ने गरि ओलीले नामावली समेत तयार गरिसकेका छन् । उनले अहिले भएका मन्त्रीहरु मध्ये आफ्नो कदमको विरोध नगर्नेहरुलाई यथावत राख्ने र अरुलाई हटाउने भएका छन् । त्यो अनुसार हालका गृहमन्त्री रामवहादुर थापा वादललाई रक्षामन्त्री बनाउने र उनको ठाउंमा गृहमन्त्रालयको जिम्मा गौतमलाई दिने लगभग निश्चित भएको छ ।
स्रोतका अनुसार अहिलेको मन्त्रीपरिषद्मा रहेकाहरु मध्ये अर्थमन्त्री विष्णु पौडेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङ र कानुन मन्त्री शिवमाया तुम्वाहाम्फे, संचारमन्त्री पार्वत गुरुङ र उद्योगमन्त्री लेखराज भट्टले मात्र निरन्तरता पाउने लगभग निश्चित छ । त्यसवाहेक अरु मन्त्रीहरुको भने निश्चितता छैन ।
ओलीले केही प्रतिष्ठित व्यक्तिहरुलाई पनि चुनावि सरकारको मन्त्री बनिदिन आग्रह गरेका छन् । चुनावी सरकार भएकोले जनताको ध्यान आकर्षिक गर्नको लागि पनि समाजका केही लोकप्रिय व्यक्तिहरुलाई मन्त्रीको लागि प्रस्ताव गर्ने तयारी भैरहेको बताइएको छ । त्योअनुसार कुलमान घिसिङ देखि किशोर थापासम्मका व्यक्तिहरुलाई मन्त्री बनाउने बारेमा ओलीको ‘किचन क्याविनेट’मा छलफल शुरु भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।