संसद विघटनसँगै नेकपा नेताहरु केपी ओली कि पुष्पकमल दाहाल समूहमा लाग्ने भनेर कित्ता क्लियर गर्ने अभियानमा छन् । सुरुबाटै खुलेका बाहेक केही नेताहरु अझै कुन कित्तामा लाग्ने भन्नेमा अझै अलमलमा छन् । त्यसै मध्येका पूर्वमाओवादी समूहबाट गृहमन्त्री समेत भएका सचिवालय सदस्य रामबहादुर थापा यदि पार्टी विभाजन भए कुन कित्तामा लाग्लान् भन्ने विषयलाई चासोका साथ हेरिएको छ ।
यद्यपी थापा हिजो दिनभरका घटनाक्रममा दाहाल समूहका कार्यक्रममा कतैपनि सहभागी भएनन् । यति मात्रै होइन पूर्वमाओवादी समूहबाट मन्त्री भएका ५ जनाले राजनीनमा दिँदा थापा र लेखराज भट्टले राजीनामा गरेनन् । यसअघिपनि थापा कुनैपनि समूहमा खुलिसकेका थिएनन् तर ओलीलाई बढी साथ दिएका थिए । पार्टी विवाद चर्कंदै जाँदा थापाले दुवै अध्यक्ष मिल्नुपर्छ भन्ने मध्यमार्गी बाटो समातेका थिए ।
बुधबार दाहाल समूहले बोलाएको स्थायी समिति बैठकमा समेत सहभागी नभएका बादललाई अहिले उनको समूहका धेरै नेताहरुले प्रतिगमनलाई सहयोग पुग्ने ओलीको कदमलाई साथ दिन छोडेर परिवर्तनकारी कित्ता दाहाल–नेपाल समूहमा आउन दवाव दिइरहेका छन् । ‘हामीले बादललाई ओलीको मतियार बन्नुहुन्न भनेर प्रेसर दिइरहेका छांै’ यसअघि मोहन वैद्यसँग छुटिएर माओवादी केन्द्रमा बादलसँगै आएका एक केन्द्रीय सदस्य भन्छन्, ‘हामी वैद्यबाट छुट्टिएर यता आएका ३५ जना केन्द्रीय सदस्य छौँ सबै ओलीको विपक्षमा छौँ । तर बादल खुल्नु भएको छैन । हामी उहाँलाई मनाउने प्रयास गरिरहेका छौं ।’
उनका अनुसार ओलीको मतियार बन्नुभनेको प्रतिगमनलाई सहयोग गर्नु हो । त्यतिमात्रै होइन बादलका स्वकीय सचिव समेत रहेका सूर्य सुवेदी समेत बादलको कित्ताबारे केही बोलेका छैनन् । सुवेदीकी श्रीमति ज्ञानु बस्नेत समेत नेकपा केन्द्रीय सदस्य हुन् । बस्नेत ओलीको कदमको फेसबुकमार्फत विरोध गरिसकेकी छन् । यसैबीच बादल समूहको बैठक अहिले मन्त्री निवास पुल्चोकमा बसिरहेको छ ।
बैठकमा नेताहरु देव गुरुङ, पम्फा भुषाल र हितमान शाक्य लगायतका नेताहरुले ओली कित्ता छाडेर प्रचण्ड कित्तामा जान पुनर्विचार गर्न आग्रह गरिरहेका छन् । यही बेला बालुवाटारमा ओलीले बोलाएको निर्वतमान सांसदहरुको भेलामा पनि बादल गएका छैनन् । ओलीले बोलाएको भेलामा अत्यन्त थोरै मात्राका सांसदहरुमात्रै सहभागी भएको बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।