राजधानी नतोक्दै , प्रदेश प्रमुख तोक्न सरकारको तयारी



 

सैघाली खबर
काठमाण्डौ, २२ पुस । सरकारले अस्थायी राजधानी नतोकेर प्रदेश प्रमुख मात्रै नियुक्त गर्ने तयारी गरेको छ । सोमबार बस्ने मन्त्रिपरिषद बैठकले सातवटै प्रदेशका प्रमुख नियुक्त गर्ने तर अस्थायी राजधानी भने नतोक्ने वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

अस्थायी राजधानीको विषयमा विवाद बढ्दै गएपछि सरकार पूर्व तयारीबाट पछि हटेको हो । संविधानअनुसार प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेशसभालाई रहेकाले सरकारले यसबारे निर्णय नगर्ने मन्त्री विश्वकर्माले बताउनुभयो

तर संविधानमा भने प्रदेशसभाले राजधानी नतोक्दासम्म संघीय सरकारले नै अस्थायी राजधानी तोक्न सक्ने उल्लेख छ । संविधानमा तोक्न सक्नेछ मात्रै भनेको, तर तोक्नैपर्ने अनिवार्य नभएको मन्त्री विश्वकर्माले बताउनुभयो । यसअघि सरकारले अस्थायी राजधानी तोक्ने तयारी गरेपनि बिभिन्न ठाउँमा आन्दोलन हुन थालेपछि सरकार पछि हटेको हो ।

एमाले र माओवादीले पनि अस्थायी राजधानीबारे सुझाव नदिएपछि सरकारलाई अप्ठ्यारो परेको थियो । मन्त्री विश्वकर्माका अनुसार हाललाई सातवटै प्रदेश प्रमुखहरुको अस्थायी कार्यालय काठमाडौंमै राख्ने तयारी छ ।

प्रदेशसभाका सांसदहरुले काठमाडौंमै शपथ ग्रहण गर्नेछन् । सांसदहरुले सपथ ग्रहण गरेपछि प्रदेशसभाको बैठक काठमाडौंमै बस्ने र प्रदेशसभाले नै राजधानी तोक्नेगरी सरकारले तयारी अघि बढाएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्